News in Nepali

९ वर्षअघि भारतको महाराष्ट्रस्थित काठ गोदाममा ज्यान गुमाएका कपिलवस्तुका ७ परिवारले अझै पाएनन् राहत

Lumbinikhabar Online

नेपाल–भारत सीमासँगै जोडिएको महाराजगन्ज गाउँपालिका–७, सतभराका श्यामदेव अहिर नजिकैको शिव मन्दिरमा प्रत्येक बिहान आराधना गर्न पुग्छन् । उनले ‘परिवारको भलो गर्देऊ’ भन्दै यसरी भगवान् पुकार्न थालेको नौ वर्ष बितिसकेको छ । दायाँ आँखा नदेख्ने र कान नसुन्ने भए पनि पाँच जनाको परिवार पालनपोषणको जिम्मेवारी सम्हालिरहेको श्यामदेवले सुनाए । ‘घरमा पौरख गर्ने कोही छैन, परिवार भगवान् भरोसामा चलेको छ,’ उनले भने, ‘भगवान्सित धेरै कुरा मागेकै छैन, बस् दुःख नदेऊ भनेर पुकारा गरिरहेको छु ।’

श्यामदेवको दुःखको कथा एउटा पीडादायी घटनाबाट सुरु भएको हो । ९ वर्षअघि भारतको महाराष्ट्र राज्यको ठाणे जिल्लास्थित काठ गोदाममा भएको आगलागीमा परेर उनका जेठा छोरासहित महाराजगन्ज–७, सतभराका पाँच र महाराजगन्ज–४, वरइपुरका दुई जनाको मृत्यु भएको थियो । राति खाना खाएर सुतेका उनीहरू आगलागीमा परेका हुन् । उक्त घटनामा सतभराका लौटु मुराउ, भुइधर अहिर, गौरीपुजन लोनिया, गणेश लोनिया, विक्रम चमार र वरइपुरका नीरज चौधरी र रामदयाल भरले ज्यान गुमाएका थिए ।

छोराको मृत्यु नभएको भए श्यामदेवलाई यतिसारो दुःखले घेर्ने थिएन । यही आगलागीमा परेर उनका कान्छा छोरा विनोद पनि गम्भीर घाइते भएका छन् । उनको शरीरको बायाँ पाखो शिरदेखि पैतालासम्म जलेको छ । महाराष्ट्रमै एक वर्ष उपचार गराएर फर्के पनि उनी पूरै तंग्रिसकेका छैनन् । एक छोरा गुमाउनुपर्दा र अर्को छोरा अपाहिज बन्दाको तनावका बीच आफ्नो स्वास्थ्य पनि बिग्रन सुरु भएको श्यामदेवले सुनाए । ‘हट्टाकट्टा छोरो आधा शरीर जलेर घरमै बस्नु परिरहेको छ,’ उनले भने, ‘घाममा निस्किन सक्दैन, गाह्रो काम गर्नै मिल्दैन ।’

आगलागीले जलेको शरीर पूरै स्वस्थ नभइसकेकाले विनोदलाई काम गर्न घरबाहिर जान त्यति सजिलो छैन । ‘चिकित्सकको सल्लाहमा अझैसम्म मासिक तीन हजार रुपैयाँको औषधि खाइरहेको छु,’ ३० वर्षीय विनोदले भने, ‘दौडधुप गर्न सक्दिनँ । गोठालो जान्छु, गाउँका गाईबस्तु चराएबापत दिनको २/३ सय रुपैयाँ कमाइरहेको छु ।’ काम नपाइएका बेला परिवारको छाक टार्नै समस्या पर्ने उनले सुनाए । खानै समस्या भइरहेका बेला छिमेकी र आफन्तले रकम संकलन गरेर एक/दुई हजार दिने गरेको र त्यस्तो सहयोगले नुन, तेल, दाल र चामल खरिद गर्न ठिक्क भइरहेको उनले बताए । एकातिर घर खर्चको चिन्ता, अर्कोतिर ६/६ महिनामा भारतको लखनउ या गोरखपुर पुगेर स्वास्थ्य जाँच गरिराख्नुपर्ने बाध्यता पनि उनलाई छ । ‘अस्पताल आउजाउमै ६ हजार भारतीय रुपैयाँ (भारु) खर्च भइरहेको छ,’ उनले भने, ‘आगलागीमा परेर एक दिन जले पनि त्यस घटनाले हरेक दिनजसो पोलिरहेको छ ।’

आगलागीअघिसम्म विनोदका दाजुभाइ कहिले देशभित्रै त कहिले भारतका विभिन्न सहरमा मजदुरी गर्न पुग्थे । महाराष्ट्रको काठ गोदाममा काम गर्दा आफूहरूले मासिक १२ हजार भारुसम्म बचत गर्ने गरेको विनोदले बताए । त्यही आम्दानी जोगाएर आफूहरूले इँटाको गारो भएको घर बनाउन सुरु गरेको पनि उनले सुनाए । ‘तीन लाख खर्च गरेर तीन कोठाको घर बनाउँदै थियौं,’ विनोदले भने, ‘घटनामा दाइ मरिहाल्यो, म अपांग भएँ । त्यसपछि घर अधुरै छ । प्लास्टर गर्न सकेनौं, ढोका पनि राख्न सकिएन ।’

एउटा छोराको मृत्युको शोक अनि अर्को घाइते छोराको स्वास्थ्यको चिन्ताले श्यामदेवलाई पोलिरहन्छ । छोराको उपचार र घर खर्च चलाउन गाउँघरबाट लिएको ऋण नै तीन लाख नाघिसकेको श्यामदेवले सुनाए । ‘रिन तिरेर मर्न पाए हुन्थ्यो,’ उनले भने, ‘छोरा गुमाएँ, यही रिनले घरबार पनि जाने चिन्ता छ ।’ आगलागीको घटनाका पीडित परिवारलाई कुनै पनि क्षतिपूर्ति र उपचार खर्च नपाएकाले आफ्नो यस्तो अवस्था भएको उनले बताए ।

श्यामदेवको भन्दा ४० मिटर उत्तरपट्टि छानाभरि फर्सीको झाल मौलाएको झुपडी–घर छ । भत्किन लागेका भित्तामा आड लगाएको खटियामा ३७ वर्षीया शान्ति मुराउ पल्टिरहेकी थिइन् । सिरानतिर ठड्याइएको पंखाले हावा फ्याँक्दा टाउको छोपेको दुपट्टा उड्थ्यो । उनको एककोठे घरको पालिमा भान्सा र रछ्यान छ । नौ वर्षअघि उनका श्रीमान् लौटु मुराउको महाराष्ट्रमा आगलागीमा परेर मृत्यु भएदेखि आफ्नो मन अशान्त बनिरहेको उनले सुनाइन् । गाउँको इँटाभट्टामा काम गर्ने लौटु पहिलो पटक कमाउन महाराष्ट्र पुगेका थिए । घटनाको दिन उनी त्यहाँ पुगेको १५ दिन मात्रै भएको थियो । मजदुरीले गुजारा मात्र भएपछि एकहल गोरु खरिद गर्न पुग्ने आम्दानी गरेर फर्किन्छु भन्दै पति भारत पसेको शान्तिले सुनाइन् । ‘कमाएर आएपछि गोरु किनेर अँधियामा खेती गर्ने र घर खर्च चलाउँछु भन्थे,’ उनले भनिन्, ‘त्यो सपना उनीसितै खरानी भो ।’ श्रीमान्को मृत्युपछि शान्तिको काँधमा तीन छोरी र एक छोरा हुर्काउने दायित्व पनि थपिएको छ । छोराछोरीको रेखदेख र अरू खर्च धान्न गाह्रो भएपछि उनले कान्छी छोरीलाई मामाघर राखेर पढाइरहेकी छिन् । छोरा जयशंकर भने बाबुको मृत्युपछि पढाइ छाडेर बहादुरगन्जस्थित प्लाइउड फ्याक्ट्रीमा कार्यरत छन् । स्कुल नै नटेकेका जेठी र माइली छोरी कृष्णनगरमा घरेलु कामदार छन् ।

यतिबेला शान्तिलाई घर खर्च जुटाउनुका साथसाथै हुर्किंदै गरेका छोरीहरूको बिहे खर्च कसरी धान्ने भन्ने चिन्ताले पनि सताउन थालेको छ । चार कट्ठा जमिनको उब्जनीले दुई–चार महिनाभन्दा खाद्यान्न नधान्ने स्थायी दुःख त उनीसँग छँदै छ । कहिलेकाहीँ उनी अरूका घरमा खाना पकाउन जाने, सिजनका बेला खेत रोप्ने, धान काट्ने गरेर अलिकलि आम्दानी गरिरहेकी छन् । गुजारा गर्न भनेर सिलाइ मेसिन पनि किनेकी थिइन् । तर गाउँमा नगद तिरेर लुगा सिलाउने ग्राहक नपाएपछि त्यो मेसिन साथीलाई दिएको उनले बताइन् । एकल महिला भएकाले सरकारले उपलब्ध गराएको सामाजिक सुरक्षा भत्ताले भने आफूलाई थोरै भए पनि राहत मिलेको उनले सुनाइन् ।

महाराजगन्ज–७ सतभराका ७१ वर्षीय पटेश्वरी चौहान (लोनिया) ले महाराष्ट्र आगलागीमा दुई छोरा गुमाए । २५ वर्षीय जेठा गौरीपुजन र कान्छा २२ वर्षीय गणेशको आगलागीमा परेर मृत्यु भएको थियो । परिवारसित बिदा भएर गएको एक महिनामै उनीहरू घटनामा परेका थिए । पटेश्वरी बायाँ आँखाले देख्दैनन् । बाँसको लौरो उनको सहारा बनेको छ । परिवारमा उनी, श्रीमती, गणेशकी पत्नी र छोरा छन् । उनीहरूको माटोको घर थियो । दुवै छोरा पहिलो पटक महाराष्ट्रस्थित उक्त काठ फ्याक्ट्रीमा गएर एक वर्ष काम गरे । ‘त्यहाँबाट फर्किएर इँटाको पर्खाल चिने,’

बाबु पटेश्वरीले भने, ‘घर पूरा गर्ने भन्दै फेरि गएका थिए ।’ तर, भारतबाट छोराको लास पनि नफर्केको उनले सुनाए । उनका अनुसार त्यतिबेला भारतीय नागरिकले चन्दा संकलन गरेर दुर्घटनामा मृत्यु भएकाको दाहसंस्कार गरेका थिए । ‘जलेर पहिचान गर्न समस्या भएपछि त्यहीँ अन्तिम संस्कार गरिएको बताइयो,’ उनले भने, ‘छोराको सम्झना अब इँटाले चिनेको घरको पर्खाल मात्रै बाँकी छ ।’ कमाउने छोराहरू नै नरहेपछि परिवारको सारा जिम्मेवारी आफ्नो काँधमाथि थपिएको उनले सुनाए । गणेशका छोरा अमन गाउँकै रत्नराज्य लक्ष्मी आधारभूत विद्यालयमा तीन कक्षामा पढ्छन् ।

पाँच कट्ठा जमिनको उब्जनीले दुई महिनालाई पनि खान नपुग्ने भएपछि उनलाई खाद्यान्नकै समस्याले सताउँछ । एक वर्षदेखि ढाड दुख्ने समस्याले पिरोलिरहेका उनले यसैको उपचारमा मात्रै दसौं हजार खर्चिसकेको सुनाए । ‘घर खर्च र उपचार खर्च गरेर अहिलेसम्म दुई लाख रुपैयाँ कर्जा पुगिसकेको छ,’ उनले भने, ‘छोराहरूको मृत्युपछि राहत र क्षतिपूर्ति पाएको भए यस्तो अवस्था हुँदैनथ्यो ।’

बिहे भएर गएका तीन छोरीले उनलाई चाडबाडका बेला खर्च पठाइदिन्छन् र उनको मन केही हलुंगो भएजस्तो हुन्छ । ‘म मजदुरी गर्न सक्दिनँ । कहिलेकाहीँ सहयोग मिल्छ,’ पटेश्वरीले भने, ‘नत्र सापटी मागेर चलाउँछु ।’ अचेल छोराहरूकै यादमा समय बिताइरहेको उनले बताए । छोराहरू सपनामा आएका दिन उनको पीर झनै दोब्बर हुन्छ । ‘छोराहरू हुन्थे भने हाम्रो जीवन स्वर्ग भइसक्थ्यो,’ उनले भने, ‘अहिले त नर्कजस्तै छ ।’ छोराको यादले पिरोल्दा सहन नसकेर भुइँमा पल्टिने गरेको उनी बताउँछन् । दिउँसो छोराको याद आएका बेला धेरै कष्ट हुने उनले सुनाए । ‘खेतमा काम गर्दागर्दै याद आउँदा त्यहीँ ढल्छु,’ उनले भने, ‘उठाउने कोही हुँदैन ।’

श्यामदेव, शान्ति र पटेश्वरीको भन्दा फरक छैन महराजगन्ज–४, वरइपुरकी सीमाको पीडा पनि । वरइपुरकी सीमा भरका श्रीमान् रामदयालको महाराष्ट्र आगलागीमा मृत्यु भएको थियो । यो घटनापछि सीमाको परिवार लथालिङ्ग छ । उनका आठ वर्षका छोरा र पाँच वर्षकी छोरी विद्यालय जान्छन् भने जेठी छोरीको बिहे भइसकेको छ । १६ वर्षीय छोरा लवकुश भने प्लाइउड फ्याक्ट्रीमा ज्यालादारीमा काम गर्छन् । एक महिना पनि नधान्ने तीन कट्ठाको उब्जनी, छोराछोरीको बढ्दो खर्च आदिले पनि उनको पीर बढाइरहेका छन् । बढ्दो घर खर्च धान्न उनी असार/साउनमा धान रोप्ने मजदुरी गर्छिन् भने मंसिरमा धान काट्ने काममा जान्छिन् । ‘बिरामी परेपछि ऋण खोज्नुपर्छ,’ उनले भनिन्, ‘२० हजार रुपैयाँ ऋण छ, कसरी चुकाउने भन्ने पीर छ ।’

उनका पति तीन पटक मजदुरीका लागि भारत गइसकेका थिए । अन्तिम पटक गएको एक महिनापछि आगलागीमा परे । घटना हुनुअघिको अन्तिम फोन सम्पर्कमा पत्नीसित छोरीको बिहेका लागि खर्च जुटाएर आउँछु भनेका थिए । तर, रामदयालले छोरीको बिहे देख्न पाएनन् । किनकि, उनको मृत्युको तीन महिनापछि छोरीको बिहे भयो । ‘माइतीको सहयोगमा छोरीको बिहे गरिदिएँ,’ सीमाले भनिन्, ‘छरछिमेकले सघाए, नत्र कसरी गर्न सक्थें र ?’

महाराजगन्ज–७ सतभराकी राजमती चमारलाई छोरीको बिहे कसरी टुंग्याउने भन्ने चिन्ताले सताएको छ । जेठा छोरा विक्रमको आगलागीमा मृत्यु भएपछि उनको घरको कमाइको स्रोत टुटेको हो । कान्छी छोरीको बिहेमा जुटेकी राजमतीलाई यतिबेला कमाउने छोरा हुन्थ्यो भने दुई–चार पैसाका लागि अरूसँग हात पसार्न पर्दैनथ्यो भन्ने कुराले बिझाइरहन्छ । ‘बिहेको साइतका लागि ५० हजार ऋण लिएकी छु,’ उनले भनिन्, ‘बिहे कसरी टुंग्याउने अहिलेदेखि नै चिन्ता छ ।’

दोस्रो पटक कमाउन महाराष्ट्र पुगेको एक महिनामै आगलागीको घटनामा परेर विक्रमको मृत्यु भएको थियो । घटनापछि विक्रमका बाबु गोमती भारत आउजाउ गर्न छाडे । उनी अहिले रूपन्देहीको बुटवलमा हाते रिक्सा चलाउँछन् । ‘छोरा बितेपछि बाबुले भारत जान मन गरेनन्,’ राजमतीले भनिन्, ‘अभावले पिरोलेका बेला छोराको तस्बिर आँखामा नाच्छ ।’ छोराको उमेरका केटाकेटी देख्नासाथ भक्कानो फुट्ने र उसैलाई सम्झेर रुने गरेको उनले बताइन् । जनता आवास कार्यक्रममार्फत राजमतीको घर बनाइए पनि यो घर पूरै बनिसकेको छैन । खाँबा गाडेर जस्तापाताको छानो हालिदिए पनि घरको भित्तै नभएको राजमतीले बताइन् । ‘खुला घरमा बस्छु,’ उनले भनिन्, ‘जाडो सुरु भएपछि खर काटेर भित्ताजस्तै ठड्याउँछु ।’

राहत न क्षतिपूर्ति

२०७१ पुस ११ गते महाराष्ट्रको ठाणे जिल्लाको मण्डी महानगरपालिकास्थित काठ गोदाममा आगलागी हुँदा मृत्यु भएका कपिलवस्तुका ७ पीडित परिवारले अहिलेसम्म राहत पाएका छैनन् । आगलागी घटनाको नौ वर्ष बितिसक्दा पनि पीडित परिवारले कुनै पनि किसिमको राहत र क्षतिपूर्ति नपाएको साबिक कुशहवा गाविस उपाध्यक्ष तथा स्थानीय बुद्धिसागर शुक्लाले बताए ।

घटनालगत्तै भारतको महाराष्ट्र सरकारले पीडितलाई राहत दिने प्रतिबद्धता जनाएको थियो । तर, त्यो प्रतिबद्धता व्यवहारमा लागू हुन सकेको छैन । यस विषयमा पीडितले परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारको ध्यानाकर्षणसमेत गराइसकेका छन् । तर, पीडितहरूको व्यथा बुझ्न र सम्बोधन गर्न भने कोही पनि गम्भीर देखिएनन् । जिल्ला प्रशासनले २०७४ चैत २८ गते गृह मन्त्रालयको राहत शाखालाई पठाएको सिफारिस पत्रमा परराष्ट्र मन्त्रालयमार्फत राहत र क्षतिपूर्तिका लागि सम्बन्धित निकायमा अनुरोध गर्ने उल्लेख गरिएको छ । उक्त पत्रमा पीडितले त्यसबेलासम्म कतैबाट राहत र क्षतिपूर्ति प्राप्त नगरेको उल्लेख छ । सन् २०१९ अप्रिल २३ गते कुरियर र इमेलमार्फत परराष्ट्र मन्त्रालयअन्तर्गत काउन्सिलर शाखालाई राहत र क्षतिपूर्तिका लागि निवेदन पठाएको शुक्लाले बताए । ‘राहत र क्षतिपूर्तिका लागि पठाएका कागजातको फोटोकपी अहिलेसम्म सुरक्षित राखेको छु,’ उनले भने, ‘विपन्न परिवार भएकाले पीडित परिवारलाई खान–लाउनै पनि समस्या छ । बिरामी पर्दा उपचार गराउनसमेत पैसा छैन ।’

मजदुरको मृत्युपछि राहत माग गर्दै आफन्तले त्यतिबेला ५ दिनसम्म शव बुझेका थिएनन् । भारत सरकार, महाराष्ट्र राज्य सरकार र काठ उद्योगले राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने आश्वासन दिएपछि पीडित परिवारले शव बुझेर दाहसंस्कार गरेका थिए । तत्कालीन समयमा नेपाली दूतावासले राहतका लागि पहल गरेको थियो ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले राहत उपलब्ध गराउने आश्वासन दिएको पूर्वराज्यमन्त्री ईश्वरदयाल मिश्रले बताए । तर, अहिलेसम्म कहींकतैबाट पनि उनीहरूले राहत पाउन नसकेको उनले बताए । महाराजगन्ज नगरपालिका प्रमुख अब्दुल कलामले मृतकको काजकिरियामा व्यक्तिगत रूपमा सहयोग गरेको बताए । दुई मुलुकबीचको कुरा भएकाले परराष्ट्र मन्त्रालयले अग्रसरता लिएर पीडितलाई तत्काल सहयोग गर्नुपर्ने उनले बताए ।

Tags

छुटाउनु भयो कि ?