दर भनेको के हो ?
शाब्दिक रूपमा दरो या बलियो भन्ने बुझिने दर शब्द हाम्रो अधिकांश चाडपर्वको पूर्व सन्ध्यामा आउने शब्द हो । तीज दिन व्रत या पुजा अर्चना गरेर मात्र खान पाउने प्रावधान भएको अवस्थामा राती अडिलो खाना खाएर सुत्ने, सकेसम्म ढिलो खाना खाएर सुत्ने चलन थियो । यही चलन अहिले आएर दर भएको हो ।
तिजको दर खाने दिन
कठिन तीजको व्रतलाई आजको दरले भ्याउनुपर्ने हुन्छ । किनभने तीजको दिन व्रत केवल व्रत मात्र नभई दिनभरिको नाचगान, कुराकानी, पूजापाठ अनि रमाइलो पनि हो । यसरी नारीहरू एकै ठाउँमा भेला भएर रमाइलो गर्दै मध्यरातमा बसेर मीठा–मीठा परिकारहरू खाने चलन नै दर हो ।
दरको कुरा गर्दा सामान्यतया पकवानहरूमा ढकने, आलुदम, आलु–कबाफ, दूध, कुरौनी, फलफूल, मिठाई लगायतका अडिला कुराहरू सेवन गर्ने चलन छ । अझ विवाहित चेलीका लागि त दरको महत्त्व वास्तवमै अगाध स्नेहमयी हुन्छ । माइतीको निम्तोमा दर खान पुगेका चेलीहरू तीजको अघिल्लो दिन आमा, हजुर या भाउजूहरूको स्नेहमा लुटपुटिँदै उपरखुट्टी लगाएर घरको कुनै सुर्ता नराखी खाने, रमाउने चलन छ ।
हुन त आजभोलि महिनौँ अघि देखि नै दर खाने र रमाइलो गर्ने चलन बढ्दो छ तर तिज भन्दा एक दिन अगाडि चाहिँ हाम्रो परम्परागत दर खाने चलन रहिआएको मान्यता छ ।
तीज एउटा संस्कार मात्र नभई सभ्यता हो । हेर्नेले यसलाई नारीवादी चाडका रूपमा हेर्ने गर्छन् । तर आँखाका डिल अनि मनका भित्ता खोलेर हेर्ने हो भने तीज नारी र पुरुषको समानता अनि लैगिंक समानताको उत्साह पनि हो । आमा, छोरी, बुहारी, सासू, आमाजू, दिदी, बहिनी लगायत सम्पूर्ण महिला नातागोताहरूको साझा चौतारीका रूपमा तीजलाई लिन सकिन्छ ।
वैदिक हिन्दु सनातन परम्परा, संस्कार तथा महिला सौभाग्यको प्रतीक स्वरूप रातो सारी, छड्के तिलहरी, लगनको पोते लगायतका गरगहना र वस्त्र पहिरिएर तीजको दिनमा निराहार व्रत लिएर मठ मन्दिर, टोल छिमेकमा भेला भई नाचगान गर्दै रमाइलो गर्ने चलन रहिआएको छ ।
जे होस् तीजको अघिल्लो दिन दर खाने दिनको सबैलाई शुभकामना । हामी सबै जनाको परिवारको सु–स्वास्थ्य र दीर्घायू कायम होस् । अनि भनेजस्तो जीवन–साथी पाइयोस् अनि सम्पूर्ण दिदी–बहिनीहरूको सौभाग्य अटल रहोस् ।