News in Nepali

६० किलो सुन प्रकरणमा ३ अर्ब ५० करोड बिगो दाबी

Lumbinikhabar Online

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले त्रिभुवन विमानस्थलबाट तस्करी भएको ६० किलो सुनको प्रकरणमा ३ अर्ब ५० करोड रुपैयाँ बिगो दाबीसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलमा बुझाएको छ।

साउन २ गते त्रिभुवन विमानस्थल बाहिर ब्रेक सुमा हालेर ल्याएको ६० केजी सुन प्रहरीले बरामद गरेको थियो। सोही प्रकरणमा संगठित अपराध लगायतका कसुर गरेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ३५ दिन छानबिन गरी आज सरकारी वकिललाई प्रतिवेदन बुझाएको हो।

‘त्यो दिन बरामद भएको ६० किलोबाहेक रेडी ट्रेड  कम्पनीको नाममा अरू ३०२ किलो सुन पनि तस्करी भएको देखियो,’ सिआइबीकी प्रमुख एआइजी किरण बज्राचार्यले भनिन्, ‘३ अर्ब ५० करोड रुपैयाँ बिगो दाबीसहित प्रतिवेदन बुझाउँदै छौं।’

तस्करी भएको प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ५० जनालाई प्रतिवादी बनाएको छ।

उक्त घटनाको अनुसन्धान सकेर बुधबार जिल्ला सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाउन लागेको सिआइबीले प्रतिवादीमध्ये ३२ जना पक्राउ परेको र १८ जना फरार रहेको सिआइबीकी प्रमुख एआइजी बज्राचार्यले जानकारी दिइन्।

पक्राउ पर्नेमा २३ जना नेपाली र ९ जना विदेशी नागरिक छन्। फरार हुनेमा १४ विदेश र ४ जना नेपाली नागरिक छन्।

फरार हुनेमा माओवादी उच्च नेताहरूसँग सम्बन्ध भएको भनिएकी अमला रोक्का मगर पनि छन्। अमलाका श्रीमान् चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङलाई प्रहरीले पक्राउ गरेको छ। यो प्रकरणमा अहिलेसम्म पक्राउ परेकामध्ये उनको मुख्य भूमिका रहेको देखिएको प्रहरीले जनाएको छ।

एआइजी बज्राचार्यका अनुसार यो सुन तस्करीमा अन्तरदेशीय संगठित अपराध देखिएको छ। यसमा नेपाली, भारतीय र चिनियाँ नागरिक संलग्न छन्।

यो तस्करीमा संलग्न रहेकाहरूले ३६२ किलो सुन तस्करी गरेको खुलेको बज्राचार्यले जानकारी दिइन्।

बज्राचार्यले यो प्रकरणको पूरक अनुसन्धान पनि गरिने जानकारी दिइन्। सिआइबीले तस्करी संलग्नहरूलाई विभिन्न ७ कसुरमा मुद्दा चलाउन मिल्ने प्रतिवेदनमा उल्लेख छ।

Tags

छुटाउनु भयो कि ?