News in Nepali

सचिनको कीर्तिमान नजिक कोहली, सोमबारको खेलमा अरू के–के रेकर्ड तोडियो ?

Lumbinikhabar Online

सोमबार सम्पन्न भारत र पाकिस्तानबीचको एसिया कपअन्तर्गत सुपर फोरको खेलमा विभिन्न कीर्तिमानहरू भङ्ग भएका छन् ।  कोलम्बोमा दुई दिन लगाएर खेलिएको खेलमा शानदार शतक बनाएका विराट कोहली महान् खेलाडी सचिन तेन्दुलकरले एकदिवसीय खेलमा बनाएको सर्वाधिक शतकको कीर्तिमान नजिक पनि पुगेका छन् ।

यो खेलमा सर्वाधिक ठुलो साझेदारीदेखि सबैभन्दा ठुलो स्कोरसम्मका अन्य कयौँ रेकर्ड बनेका छन् । हेरौँ के–के रेकर्ड बने :

१ – भारतले बनाएको २ विकेटको क्षतिमा ३५६ को स्कोर एकदिवसीयमा पाकिस्तानविरुद्ध बनाएको सबैभन्दा उच्च स्कोरको बराबरी हो । यसअघि सन् २००५ मा भारतले घरेलु मैदानमा ९ विकेटको क्षतिमा ३५६ बनाएको थियो । यो स्कोर एसिया कपको चौथो ठुलो स्कोर पनि हो ।

१ – भारतले हासिल गरेको २२८ रनको जीत रनको हिसाबले पाकिस्तानविरुद्धको सबैभन्दा ठुलो जीत हो । पाकिस्तानका लागि यो दोस्रो ठुलो हार हो ।

२३३ – विराट कोहली र के एल राहुलले तेस्रो विकेटका लागि गरेको साझेदारी एसिया कपमा कुनै पनि विकेटका लागि गरिएको सबैभन्दा ठुलो साझेदारी हो । यसअघि सन् २०१२ मा मोहमद हाफिज र नासिर जम्सेदले भारतविरुद्ध २२४ रनको साझेदारी गरेका थिए ।

१ – कोहली र राहुलको साझेदारी एकदिवसीयमा पाकिस्तानविरुद्ध गरिएको कुनै पनि विकेटका लागि सबैभन्दा ठुलो हो । यसअघि सचिन तेन्दुलकर र नवजोत सिंह सिद्धुले सन् १९९६ मा २३१ रनको साझेदारी गरेका थिए ।

१३,०२४ – कोहलीले एकदिवसीयमा बनाएको रन । उनी १३ हजार रन पुरा गर्ने मात्र पाँचौँ ब्याट्सम्यान हुन् । उनले सबैभन्दा छिटो यो कोशेढुंगा पार गरेका हुन् । उनले २६७ इनिङ्समा यो पुरा गर्दा सचिन तेन्दुलकर (३२१) भन्दा ५४ इनिङ्सले कम हो । कोहली तेन्दुलकरले बनाएको एकदिवसीयमा ४९ शतकको कीर्तिमानभन्दा मात्र २ शतकले टाढा रहेका छन् ।

४ – कोलम्बोको प्रमदाशा स्टेडियममा खेलिएको एकदिवसीय खेलमा कोहलीको लगातार चौथो शतक हो । एउटा स्टेडियममा लगातार चार शतक बनाउने हासिम अमला मात्र अर्को खेलाडी हुन् । उनले सेन्चुरियनको सुपरस्पोर्ट पार्कमा सन् २०१५–२०१७ मा यो उपलब्धि हासिल गरेका थिए ।

४ – एसिया कपमा कोहलीले बनाएको शतक । उनीभन्दा अघि ६ शतकसहित श्रीलङ्काका पूर्व खेलाडी शनथ जयसूर्या मात्र रहेका छन् । कुमार संगाकाराले पनि चार शतक बनाएका छन् ।

४ – भारतले एकदिवसीयमा ब्याटिङमा दुई विकेटमात्र गुमाएको अवसर । सन् २००३ पछि पहिलोपटक भारतले कुनै पनि खेलमा दुई विकेट मात्र गुमाएको हो । पाकिस्तानले ५० ओभरका खेल खेल्दा दुई विकेट मात्र लिन सकेको यो मात्र तेस्रोपटक हो ।

Tags

छुटाउनु भयो कि ?