News in Nepali

अर्जेन्टिना र मेस्सीका अन्धसमर्थक राजनीतिज्ञको अवसान

Lumbinikhabar Online

भनिन्छ, नेपाली नेताहरू राजनीतिका चतुर खेलाडी हुन्छन् । तर, वास्तवमै खेलप्रति भने नेपाली नेताहरूको लगाव निकै कम देख्न पाइन्छ । प्रमुख अतिथिका रूपमा विभिन्न खेलकुद प्रतियोगिता उद्घाटन गर्ने मञ्चमा उपस्थित हुनु र खेलकुद क्षेत्रको विकासबारे दुई—चार औपचारिक शब्द बोल्नु ।

अनि, बेलाबखत कुनै ठुला अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीले महत्त्वपूर्ण सफलता हात पार्दा राज्यको तर्फबाट पुरस्कार दिने आश्वासनसम्म बाँड्नु । केवल यतिमै सीमित छ, अधिकांश नेपाली राजनीतिज्ञको खेलकुदसँगको सम्बन्ध ।

 

तर खेलकुदका सन्दर्भमा अन्य राजनीतिज्ञभन्दा केही फरक थिए, सुवासचन्द्र नेम्वाङ । उनमा खेलकुदप्रति गहिरो लगाव थियो । खासगरी उनी विश्वकै सर्वाधिक लोकप्रिय खेल फुटबलका पारखी थिए । जबजब विश्वकप फुटबलको माहौल सुरु हुन्थ्यो नेपाली खेलकुद पत्रकारहरूको पहिलो रोजाइमा पर्थे, नेम्वाङ ।

फुटबलप्रतिको उनको चेतका कारण नै खेलकुद पत्रकारहरू विश्वकप फुटबलअघि नेपाली राजनीतिज्ञका रूपमा उनको विचार जान्न उत्सुक हुन्थे । यस्तै एउटा सन्दर्भ जोडिएको छ, एक वर्षअघि कतारमा आयोजित विश्वकपसँग पनि ।

सन् २०२२ को नोभेम्बर २० देखि डिसेम्बर १८ तारिखसम्म एसियाली भूमि कतारमा विश्वकप फुटबलको २२औँ संस्करण आयोजना हुँदै थियो । त्यतिबेला नेपालमा पनि विश्वकपको गतिलै चहलपहल थियो । नेपाली खेल पत्रकारहरूले पनि विभिन्न क्षेत्रका व्यक्तिसँग विश्वकपको बारेमा जिज्ञासा राख्न थालेका थिए, आफ्ना पाठकलाई फुटबलसँग जोडेर फरक स्वाद पस्कने उद्देश्यसहित ।

यसैक्रममा अधिकांश खेलकुद पत्रकारको रोजाइमा परेका थिए, नेम्वाङ । यसअघिका विश्वकपमा पनि उनी चाख मानेर खेल पत्रकारहरूसँग फुटबलको विषयमा कुरा गर्थे । विश्वकपमा सहभागी टोलीहरूको बारेमा विश्लेषण गर्थे र उनीहरूको खेल्ने शैलीको बारेमा पनि चर्चा गर्थे ।

कतार विश्वकपमा भने अधिकांश सञ्चारकर्मीलाई उनले एउटै जवाफ दिएका थिए, ‘यसपटकको विश्वकप अर्जेन्टिनाले जित्छ ।’ खासमा उनी आफै पनि अर्जेन्टिनाको ठूलो समर्थक थिए । त्योभन्दा पनि बढी उनी अर्जेन्टिनी टोलीका कप्तान लियोनेल मेस्सीको खेलबाट निकै प्रभावित थिए ।

त्यसैले कतार विश्वकपअघि आयोजित एक सार्वजनिक कार्यक्रममै उनले यसपटक विश्वकपमा अर्जेन्टिनाको विकल्प नरहेको ठोकुवा गरेका थिए । नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङले नेपाल ल क्याम्पसको स्थापना दिवसको उपलक्ष्यमा आयोजित फुटबल प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा यस्तो ठोकुवा गरेका थिए ।

सफल र सरल राजनीतिकर्मीको पहिचान बनाएका संविधानसभाका अध्यक्ष नेम्वाङ कुनै समय आफै पनि फुटबल खेलाडी थिए । इलाम बहुमुखी क्याम्पसमा अध्ययनरत रहँदा उनले स्थानीय स्तरका विभिन्न फुटबल टोलीमा कप्तानको भूमिका समेत निर्वाह गरेका थिए ।

उनले कतार विश्वकपको उपाधि अर्जेन्टिनाले जित्ने दाबी गर्दा धेरैले त्यसलाई हल्का रूपमा लिएका थिए । उनको भनाइबाट अर्जेन्टिनाका समर्थक खुसी हुनु त सामान्य थियो । खासमा त्यतिबेला अर्जेन्टिनाले विश्वकपको उपाधि जित्न नसकेको ३६ वर्ष पुगिसकेको थियो । सन् १९८६ मा विश्वकप जितेयता अर्जेन्टिनाका लागि विश्वकपको उपाधि सधैँ आकाशको फल साबित हुँदै आएको थियो ।

सन् १९८६ पछि अर्जेन्टिना दुई पटक विश्वकपको फाइनलमा पुगेर पनि पराजित भएको थियो । त्यसमाथि अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी राष्ट्रिय टोलीबाट सधैँ अभागी साबित हुँदै आएका थिए । सन् २०१४ को विश्वकपमा मेसी नेतृत्वको अर्जेन्टिना फाइनलमा पुगेर पनि जर्मनीसँग पराजित भएको थियो ।

त्यसैले पनि धेरै फुटबल समर्थकले एउटा राजनीतिज्ञले गरेको दाबीलाई गम्भीर रूपमा लिएका थिएनन् । तर, त्यसपछि पनि नेम्वाङले विभिन्न सञ्चारमाध्यममार्फत कतार विश्वकपको उपाधि अर्जेन्टिनाले नै जित्ने आफ्नो दाबी दोहोर्‍याई रहे ।

अन्ततः नेम्वाङले गरेको दाबीलाई सत्य साबित गर्दै अर्जेन्टिनाले नै कतार विश्वकपको उपाधि जित्यो । फाइनलमा मेसी नेतृत्वको अर्जेन्टिनाले बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४—२ गोलले हराएको थियो । निर्धारित समयको खेल ३—३ गोलको बराबरीमा सकिएपछि हारजितको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

खासमा अर्जेन्टिना र मेसी नेम्वाङको पहिलो रोजाइमा पर्थे । यसका बाबजुद उनी पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको खेलसमेत आफूलाई मन पर्ने बताउँथे । विश्वकप, युरोकपजस्ता ठुला प्रतियोगिता मात्र होइन, उनी फुर्सदको समयमा युरोपियन लिगहरू पनि उत्तिकै चाख मानेर हेर्थे । सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनी आफैले धेरैपटक यो कुरा बताएका छन् ।

कतार विश्वकपभन्दा करिब चार महिनाअघि ल क्याम्पसद्वारा आयोजित कार्यक्रममा पनि उनले भनेका थिए, ‘विश्वकप मात्र होइन, युरोपियन लिग पनि मेरो रोजाइमा पर्छ । अहिले पनि राति १२÷१ बजेतिर उठेर फुटबल हेर्छु । इङ्लिस प्रिमियर लिग, स्पेनिस ला लिगाजस्ता युरोपियन लिग मलाई बढी मन पर्छ । तर, आजकल मलाई निकै मन पर्ने खेलाडी फ्रान्सेली लिग खेल्न पीएसजी पुगेकाले बार्सिलोनाको खेल हेर्न छाडेको छु । अर्जेन्टिना र पीएसजीको फुटबल हेर्छु । त्यो लिग नेपाली समयअनुसार, कतिबेला हुन्छ यहाँहरूलाई थाहै छ ।’

त्यो कार्यक्रममा उनले कतार विश्वकपको उपाधि अर्जेन्टिनाले जित्ने दाबी गरेका थिए । उनले भनेका थिए, ’यो ताली अर्जेन्टिना, मेस्सीले विश्व फुटबल जित्छन् भन्ने लाग्छ । त्यसैले कतारमा चार महिनापछि हुने विश्वकप फुटबल तपाईं हामी आ–आफ्नो घरमा बसेर होस् वा सकिएछ भने कतार पुगेर हेरौँला ।’ सायद कार्यव्यस्तताले होला, विश्वकप हेर्न उनी कतार त पुगेनन् तर उनले चार महिनाअघि नै ठोकुवा गरेजस्तै विश्वकपको उपाधि भने अर्जेन्टिनाले नै जित्यो ।

नेकपा एमालेको संसदीय दलका उपनेता भएकाले नेम्वाङको दिनचर्या निकै व्यस्त हुनु स्वाभाविक थियो । उनी अधिकांश समय राजनीतिक गतिविधिमा व्यस्त रहन्थे । दिनभरको थकानपछि साँझ घर पुग्दा त्यहाँ पनि उनलाई पर्खिरहेका कार्यकर्ताको लाम हुन्थ्यो । ‘यसका बाबजुद म फुटबल हेर्न समय निकाल्छु । फुटबलका लागि त जसरी भए पनि समय निकाल्नै पर्छ । युरोपियन लिगहरू मेरै लागि भनेजस्तो राति नै पर्छन् । मैले त्यसका लागि सुत्ने समयसँग मात्र सम्झौता गरे पुग्छ,’ फुटबलका वास्तविक पारखी नेम्वाङ भन्थे ।

यसअघि सन् २०१८ को विश्वकप रुसमा आयोजना भएको थियो । त्यतिबेला पनि उनले सञ्चारकर्मीसँग मन खोलेर फुटबलको विषयमा कुरा गरेका थिए । त्यतिबेला उनलाई एउटै डरले सताएको थियो, ‘कतै अर्जेन्टिना विश्वकपमै छनोट नहुने हो कि ?’

रुस विश्वकप जारी रहँदा उनले भनेका थिए, ‘त्यो वास्तवमै पिडादायी क्षण थियो । त्यतिबेला सोच्थेँ, अर्जेन्टिना रुस पुगेन भने ? मेस्सीले खेल्न पाएनन् भने ? अर्जेन्टिना र मेस्सी रुस पुगेनन् भने त विश्वकप नै के हेर्नु जस्तो पनि लाग्थ्यो ।’ त्यतिबेला उनले अर्जेन्टिनापछि विश्व फुटबलमा आफ्नो दोस्रो रोजाइको टोली ब्राजिल भएको बताएका थिए ।

Tags

छुटाउनु भयो कि ?