News in Nepali

डेढ अर्ब ठग्ने ढोरपाटनका मेयर नेपालीविरुद्ध रेडकर्नरको तयारी

Lumbinikhabar Online

डेढ अर्ब रकम हिनामिना गरी बेपत्ता भएका इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरुद्ध रेडकर्नरको तयारी भएको छ । बागलुङस्थित जिल्ला प्रशासन र जिल्ला प्रहरीले प्रहरी प्रधान कार्यालयमा रेडकर्नर नोटिसका लागि सिफारिस पठाएको छ ।

विदेशमा लुकेर बसेको आशंकापछि रेडकर्नर नोटिस जारी गर्नुपर्ने पीडितले माग गरेका थिए । प्रहरी प्रधान कार्यालयको इन्टरपोल महाशाखाले जिल्लाको सिफारिसको आधारमा रेडकर्नर जारी गर्ने तयारी गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले बताए ।

नेपालीसहित उनकी पत्नी र सहकारीका सञ्चालकविरुद्ध सर्वसाधारणले प्रहरीमा जाहेरी दिएका थिए । उक्त जाहेरीका आधारमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा संगठित ठगीको मुद्दा दायर गरेका छन् । उनी बेपत्ता भएपछि सयौं बचतकर्ता कहिले प्रहरीमा, कहिले सडकमा भौंतारिइरहेका छन् ।

अधिकांश पीडितले नेपालीविरुद्ध आर्थिक अपराधको मुद्दा लगाउन माग गरेका छन् । ‘नियोजित रूपमा नागरिकको रकम ठग्नेलाई राज्यले आर्थिक अपराधको मुद्दा लगाएर रेडकर्नर नोटिस जारी गर्नुपर्छ,’ स्थानीय यामप्रसाद शर्माले भने, ‘पीडितको समस्याबाट दल, प्रशासन र सरकार पछि हटेको छ ।’ सम्झौता गरेपछि प्रशासन गुमनाम हुँदा पीडितहरू मानसिक तनावमा परेको उनले बताए ।

गत वैशाख ६ गतेको बैठकको निर्णय भन्दै ७ गते सूचना प्रकाशित गरेर सहकारी संस्था बन्द गरेपछि अहिलेसम्म खुलेको छैन । सुरुमा तरलता अभाव देखाएको सहकारीले अन्ततः पैसा हिनामिना पारेपछि बन्द गराएको हो । नियमित बचतमार्फत दैनिक कमाइ जम्मा गरेका सयौंको रकम नेपालीले हिनामिना पारेका हुन् ।

दुई दशकदेखि व्यवसायबाट कमाएको पैसाले घर बनाउने योजना बनाएका बागलुङ नगरपालिका–७ का एक पीडितले ५० लाख रुपैयाँभन्दा बढी रकम डुबेको गुनासो गरे । यहाँका डिलबहादुर कार्की, मञ्जु चालिसे, यामप्रसाद शर्मा, तुलसी गौतमलगायतका बचतकर्ता तथा सहकारी पीडितले दुई महिनासम्म सडक संघर्ष गरे । उनीहरूले न बचत फिर्ता पाए, न सहकारीका अध्यक्षको अत्तोपत्तो भयो ।

उनी सम्पर्कविहीन हुँदा १ हजार ५ सय ५० भन्दा धेरै जनाको १ अर्ब ६० करोड भन्दा धेरै रकम अलपत्र परेको छ । ‘सडक संर्घषकै क्रममा हामी काठमाडौंको माइतीघरसम्म धर्ना दिन पुग्यौं, सरकारले आश्वासन दिएर पठायो,’ गौतमले भने, ‘स्थानीय सरकारको प्रमुख पत्ता लगाउन नसक्ने प्रशासनबाट अरु के आश गर्ने ?’ अहिले सम्म सहकारीका पदाधिकारी कता छन् भन्ने प्रहरी र प्रशासनले पनि पत्ता लगाउन सकेको छैन ।

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले नेपालको विमानस्थल प्रयोग भएर कतै गएको रेकर्ड नभएको बताए । जेठ पहिलो साताबाटै कडाइ गर्दा पनि नेपाली बेपत्ता भएका हुन् । ‘सयौं जनताको सम्पत्ति हिनामिना गरेकोले प्रहरीले रेडकर्नर जारी गर्न सक्छ, तर ढिला भइरहेको छ,’ बरालले भने, ‘यो किन ढिला भयो, बुझ्दैछौं ।’ रेडकर्नर जारी हुँदा अन्तर्राष्ट्रिय तहमा पनि अभियुक्तको खोजी गर्न सकिने प्रावधान छ ।

एउटा स्थानीय सरकारको प्रमुखसमेत हराउँदा खोजी नगर्नुमा रहस्य लुकेको अर्का पीडित पूजा शर्माको भनाइ छ । नेपाली बेपत्ता भएपछि ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले कार्यवाहक भएर काम गरेका छन् । ‘उपप्रमुखको नाताले गर्ने दर्जनौं काम छन्, कावा प्रमुख पनि बन्नुपर्दा धेरै हैरानी खेपेको छु,’ कायतले भने, ‘राज्यका निकायले खोजी गरेर यथार्थता पत्ता लगाउनु पर्छ ।’ कायतले आफ्नै अध्यक्षतामा नीति तथा कार्यक्रम र नगरपालिकाको बजेटसमेत ल्याएका छन् ।

Tags

छुटाउनु भयो कि ?