News in Nepali

लुम्बिनी प्रदेशमा अध्यक्ष पदका उम्मेदवार रिजालविरुद्ध उजुरी

Lumbinikhabar Online

नेकपा एमाले लुम्बिनी प्रदेश अधिवेशनमा अध्यक्ष पदको उम्मेदवार बनेका प्यूठानका हरि रिजालको उम्मेदवारीको वैधानिकता माथि प्रश्न उठेको छ ।

उम्मेदवार हुन लुम्बिनी प्रदेशमा पार्टीको संठगित सदस्यता हुनुपर्ने निर्वाचन कानुनी व्यवस्था छ ।

 

उम्मेदवारीमा दर्ता गराएका रिजालको लुम्बिनी प्रदेशका पार्टी संगठित ८२ हजार ५ सय ९८ सदस्यमा रिजालको नाम नभेटिएपछि उम्मेदवारी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको हो । रिजाल प्यूठानको नौबहिनी गाउँपालिका–६ बाट प्रतिनिधि छनोट भएर आएका हुन् । प्यूठान जिल्लामै उनको सदस्यता नभेटिएकाले अध्यक्ष पदको उम्मेदवारी खारेजीको माग गर्दै पाल्पाका राजुप्रसाद श्रेष्ठले उजुरी दर्ता गराएका छन् ।

उजुरी दर्ता गर्ने श्रेष्ठ अध्यक्ष पदका अर्का उम्मेदवार पाल्पाकै राधाकृष्ण कंडेलका प्रस्तावक हुन् । ‘अध्यक्ष पदका उम्मेदवार रिजाल पार्टीका संगठित सदस्यको लुम्बिनी प्रदेशको सदस्यमै नरहेको व्यक्ति देखिएकाले पार्टीको लुम्बिनी प्रदेश सदस्य नै नभएको व्यक्ति अधिवेशन प्रतिनिधि र उम्मेदवार हुन नपाउने भएकाले खारेज गरी पाऊँ,’ उजुरीमा उल्लेख गरिएको छ । जिल्लामै संगठित सदस्य नभएका व्यक्ति प्रतिनिधि नै बन्न नपाउने उजुरीकर्ताको दाबी रहेको छ ।

रिजालले उम्मेदवारी दर्ता गर्ने क्रममा उल्लेख गरेको विवरणमा संगठित सदस्यता नं. १७५१ र सदस्यता प्राप्त गरेको मिति २०४७ जेठ २ गते उल्लेख गरेका छन् । अधिवेशनका प्रमुख निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले अध्यक्ष पदका उम्मेदवार हरिप्रसाद रिजालविरुद्ध उजुरी परेको बताए । ‘उजुरी प्राप्त भएको छ,’ उनले भने, ‘गम्भीर विषय भएकाले अध्ययन गर्दै छौं, सत्यतथ्य बुझेर निर्णय लिन्छौं ।’

लुम्बिनी प्रदेशमा अध्यक्ष पदमा रिजालसहित पाल्पाका राधाकृष्ण कंडेल, उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, विश्वराज बराल, बाँकेका पुजन विश्वकर्मा र रोल्पाका शान्तकुमार ओली, सचिवमा गुल्मीका सोमनाथ सापकोटा र दाङका लक्ष्मण आचार्य, पुरुष उपसचिवमा गुल्मीका हिरा एसी, रुकुम पूर्वका उपेन्द्रलाल कामी, रोल्पाका पूर्णबहादुर बुढामगर र बाँकेका दुर्गाप्रसाद चौधरीको उम्मेवारी परेको छ ।

त्यस्तै महिलातर्फ बाँकेकी आरति पौडेल, बसन्ती अधिकारी र बर्दियाकी लिला रानाको उम्मेदवारी परेको छ । उपसचिवमा महिला र पुरुष १/१ जना निर्वाचित हुनेछन् । सदस्यमा ३ सय ३३ जनाको उम्मेदवारी परेको छ ।

Tags

छुटाउनु भयो कि ?