News in Nepali

एमसिसीलाई लिएर समाजवादी मोर्चामा खटपट

Lumbinikhabar Online

अमेरिकी सहयोग परियोजना एमसिसीको कार्यान्वयनलाई लिएर समाजवादी मोर्चाभित्र खटपट देखिएको छ।

एमसिसी कार्यान्वयनबारे छलफल गर्न बुधबार बिहान ७ बजे मोर्चाको एउटा घटक नेकपाका नेताहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा र नेकपाका नेता अनील शर्मा सहभागी थिए। मोर्चाका अन्य दुई दल नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका नेताहरू भने छलफलमा थिएनन्।

नेकपाका नेता अनिल शर्माले छलफलका क्रममा आफूहरूले एमसिसी कार्यान्वयनमा सरकारको दृष्टिकोण मागेको बताए

‘एमसिसीको १२ बुँदे व्याख्यात्मक घोषणाका विषयमा सरकारको दृष्टिकोण के हो? यो अहिले रोक्नुपर्छ भन्ने नै हाम्रो कुरा थियो। प्रधानमन्त्रीले कार्यान्वयनमा गइसकेको बताएपछि असहमतिकै बीच उठेर हिँड्यौं,’ उनले भने।

एमसिसी कार्यान्वयन रोकिँदैन भने सहकार्य पनि अघि बढ्न नसक्ने प्रष्ट दृष्टिकोण राखेर आफूहरू बाहिरिएको उनले बताए।

‘एमसिसी कार्यान्वयन रोक्न सकिँदैन भने आजको धनगढीको सभा पनि हुँदैन भनेर हामी हिँड्यौं। सरकारले व्याख्यात्मक घोषणा एमसिसीकै अंग हुन्छ भनेर भएन नि। परियोजना, अमेरिकी सरकारको पनि त्यसमा धारणा आउनुपर्‍यो। उसले अहिलेसम्म बोलेको छैन,’ उनले भने।

राष्ट्रिय स्वाधिनता, राष्ट्रियताको रक्षार्थ नै मोर्चा बनेकाले अहिलेकै अवस्थामा एमसिसी कार्यान्वयनको पक्षमा उभिन नसक्ने उनले बताए।

‘अहिलेसम्म बाह्य दबाबका कारण अमेरिकी दूतावास बोलेको छ। सरकार रोक्ने पक्षमा देखिएन। यस्तो अवस्थामा कसरी सहकार्य हुन्छ?,’ उनले भने।

छलफलमा प्रधानमन्त्री प्रचण्डले व्याख्यात्मक घोषणालाई एमसिसीले सम्झौताको अंग मानिसकेको र आजबाट कार्यान्वयनमा गइसकेको बताएको उनको सचिवालयले जानकारी दिएको छ।

‘एमसिसी कार्यान्वयनमा जाने भइसक्यो। त्यसबारे तपाईंहरूले आफ्नो मत राख्नु स्वाभाविक हो,’ प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत उनको सचिवालयले भन्यो,‘यसबारे थप छलफल गरिराख्नु जरूरी छैन।’

प्रधानमन्त्री प्रचण्ड र नेकपाका नेताहरूबीच एमसिसीबारे कुरा नमिलेपछि त्यसको असर मोर्चामै देखिएको छ।

बिहानको  बालुवाटार छलफलपछि आज धनगढीमा हुने भनिएको मोर्चाको सभा अन्तिम समयमा आएर रोकिएको छ।

नेकपाका नेता शर्माले धनगढीको सभा रोकिएकाले अन्य ठाउँको सभा पनि अनिश्चित भएको बताए।

मोर्चाले बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सभा राखेको छ।

‘एमसिसीबारे सरकारको धारणा के आउँछ? हामीले त हाम्रो कुरा राखिसकेका छौं,’ उनले भने।

एमसिसी सम्झौता कार्यान्वयनमा लैजानु हुँदैन भनेर नेकपा आन्दोलित छ। जिल्ला सदरमुकामहरूमा विरोध प्रदर्शन गरिरहेको छ।

मोर्चाको घटक एकीकृत समाजवादीभित्र पनि एमसिसीबारे एकमत छैन। सम्मानित नेता झलनाथ खनालले एमसिसी कार्यान्वयनमा लैजान नहुने बताउँदै आएका छन्।

भदौ ५ देखि ७ गतेसम्म बसेको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले एमसिसी कार्यान्वयनबारे संसदीय समिति बनाएर अनुगमन गर्नुपर्ने निर्णय गरेको थियो।

Tags

छुटाउनु भयो कि ?