News in Nepali

सडक विस्तारको विषय लिएर मकवानपुरबाट निर्वाचित सांसदले भेटे प्रधानमन्त्री

Lumbinikhabar Online

मकवानपुरबाट निर्वाचित सांसदहरूले हेटौँडा बजार क्षेत्रको सडक विस्तारको विषय लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् । मङ्गलवार मकवानपुरबाट निर्वाचित सङ्घीय सांसदहरूले राष्ट्रिय राजमार्ग अन्तर्गतको हेटौँडा बजार क्षेत्रको सडक विस्तारको विषयमा प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका हुन् ।

लामो समयदेखि हेटौँडा बजार क्षेत्रको सडक विस्तार कार्य अवरुद्ध हुँदै आएको छ । पटक पटक सडक विस्तारको लागि सडक सीमा खाली गर्न डिभिजन सडक कार्यालय हेटौँडाले सूचना जारी गरे पनि अदालतमा मुद्दा पर्दा विस्तार कार्य रोकिँदै आएको छ । उक्त विषयमा डिभिजन कार्यालय हेटौँडाले राष्ट्रिय राजमार्ग अन्तर्गतको दायाँबायाँ २५/२५ मिटर सडक क्षेत्रमा पर्ने भन्दै हटाउन सूचना जारी गर्दै आएको छ भने उक्त क्षेत्रका घरधनी र व्यवसायीहरू निजी जग्गामा सरकारी तवरवाट हस्तक्षेप गर्न नपाइने भन्दै विरोधमा उत्रिँदै आएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गतको हेटौँडा–१५ रातोमाटे देखि हेटौँडा–१ राप्ती पुलसम्मको सडक विस्तारमा समस्या हुँदै आएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गतको हेटौँडा बजार क्षेत्रको सडक विस्तारको विषय लिएर मकवानपुरका सांसदको टोलीले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका हुन् । उचित मुआब्जा र व्यवसायीहरूको व्यवस्थापनको माग गर्दै आएको मकवानपुर उद्योग वाणिज्य संघको अगुवाइमा सांसदहरू प्रधानमन्त्री प्रचण्ड भेट्न पुगेका हुन् । संघ सहित स्थानीय घरधनीहरूले सडक विस्तार गर्ने सरकारको कामलाई कसैले बाधा, अवरोध नगर्ने तर, सडक विस्तारकै कारण हेटौँडाको एचआइडी, मेनरोड, रापतीरोडका घरधनी र व्यावसायीहरु सुकुम्वासी हुने भएकाले मुआब्जा दिएर मात्र सडक विस्तार गर्न माग गर्दै आएका छन् ।

प्रधानमन्त्रीलाई भेट गरेर सांसदहरूको टोलीले पहिले हेटौँडा बजार क्षत्रेका घरहरूको लगत सङ्कलन गरी मुआब्जा वितरण सहित सडक विस्तार गर्न प्रधानमन्त्री प्रचण्ड समक्ष ध्यानाकर्षण गराएका थिए ।

मकवानपुरबाट निर्वाचित सङ्घीय सांसद एवम् नेकपा एमालेका सचेतक महेश कुमार बर्तौला, पूर्वाधार विकास समिति सभापति एवम् राप्रपा केन्द्रीय कार्यसम्पादन समिति सदस्य दिपकबहादुर सिंह, रास्वपाकी केन्द्रीय सदस्य विन्दवासीनी कंशकार, राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई, बागमती प्रदेशसभाका सदस्य लक्ष्मी श्रेष्ठ लगायतकाको टोलीले प्रधानमन्त्री प्रचण्डलाई भेट गरेर सडक विस्तारमा ध्यानाकर्षण गराएका थिए ।

पछिल्लो समय हेटौँडा बजार क्षेत्रको सडक विस्तारको विषयमा सर्वोच्च अदालतमा परेको मुद्दाको पेशी सर्दा विस्तार कार्य प्रभावित बनेको छ । सडक विस्तारका लागि २०७८ मंसिरमा सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्दै कार्यालयले २०८० असार १० मा सडक सीमाको २५ मिटर खाली गर्न ३५ दिने सूचना जारी गरेको थियो । उक्त सूचनाको म्याद गत साउन १५ गते सकिएको थियो । १६ गतेबाट सडक विस्तार कार्य सुरु गर्ने कार्यालयको योजना भए पनि साउन ४ गते पुनः सर्वोच्चमा मुद्दा परेको थियो । उक्त मुद्दाको साउन ८ मा अल्पकालीन आदेश गर्दै तत्काल सडक विस्तार अघि नबढाउन भनेको थियो भने १६ गतेका लागि पेशी तोकी छलफलका लागि बोलाएको थियो ।

सडक विस्तारको विषयमा हाल सर्वोच्चमा ३०० भन्दा बढी रिट निवेदन परेको छ भने ती सबैमा अल्पकालीन आदेश जारी गरी छलफलका लागि बोलाइएको छ । गत १६ गतेका लागि तोकिएको पेसी सर्वोच्चको हेर्न नभ्याइने सूचिमा परेपछि २२ गतेका लागि तोकिएको थियो । हालसम्म सर्वोच्चले हेटौँडा बजार क्षेत्रको सडक विस्तारको पेशी ४ पटक सरेको छ । २२ गतेको पेशी पनि हेर्न नभ्याइनेमा सूचीमा परेपछि २९ गतेका लागि आर्के पेशी तोकिएको थियो । २९ गते पनि पेशी हेर्न नभ्याइने सूचिमा परेपछि भदौ ५ गतेका लागि पुनः तोकिएको थियो । ५ गते पछि १२ गतेका लागि तोकिएको पेशी पनि हेर्नै नभ्याइने सूचीमा परेको छ । सर्वोच्चले भदौ २९ गतेका लागि पुनः अर्को पेशी तोकेको छ ।

Tags

छुटाउनु भयो कि ?