नेकपा माओवादी केन्द्रका सचिव हितमान शाक्यले सुनकाण्डमा मुछिएका कसैले पनि उन्मुक्ति नपाउने बताएका छन् ।
समाजवादी मोर्चाले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सुनकाण्डमा मुछिएकालाई नछोड्ने र नछोइएकालाई फसाउन नहुने बताए । उनले दोषी जुनसुकै दलको भएपनि त्यसलाई नबचाउन प्रधानमन्त्रीलाई सुझाव दिएको पनि बताए ।
लुम्बिनी प्रदेश इन्चार्ज समेत रहेका शाक्यले मुलुकको हीत, देश विकास, प्रतिगमनको विरोध र सुशासनका लागि पछिल्लो समय समाजवादी मोर्चा बनाएर अगाडि बढेको बताए । तत्काल मोर्चाको मुख्य उद्देश्य सरकारको कार्यक्रमलाई सहयोग गरेर जाने भएपनि कालान्तरमा पार्टी एकताको दिशामा उन्मुखभएको समेत बताए । समाजवादी मोर्चाको लुम्बिनी प्रदेश घोषणासभाको तयारीका अवसरमा उनी बुटवल आएका थिए ।
यसैबीच, समाजवादी मोर्चाको लुम्बिनी घोषणासभा बुटवलमा हुने भएको छ । मोर्चाले आइतबार बुटवलमा पत्रकार सम्मेलन गर्दै भदौ १२ मा सभा गर्ने जानकारी दिएको हो । लुम्बिनी घोषणा सभाको व्यवस्थापनको जिम्मा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी पोलिटब्युरो सदस्य एवं पूर्वी लुम्बिनी प्रोइन्चार्ज वसन्त श्रेष्ठले तयारीको अधिकांश काम सकिएको बताए । उनले देशको राजनीतिकअवस्था फेरिँदा विगतको आन्दोलनको उपलब्धिमाथि प्रहार हुने सम्भावना बढेकाले मोर्चाको आवश्यकता रहेको बताए ।
कतिपय विषयमा मोर्चामा रहेका पार्टीका आफ्ना फरक मत रहेपनि देश र नागरिकका मुख्य विषयमा मोर्चा साझा धारणामा रहेको उनले बताए ।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, माधव नेपाल, नेत्रविक्रम चन्द, उपेन्द्र यादव लगायतका नेता सहभागी हुने मोर्चाले जानाकारी दिएको छ ।