News in Nepali

मलेसियासँग हारे पनि नेपाली महिला क्रिकेट टोली फाइनलमा

Lumbinikhabar Online

मलेसियामा जारी चार राष्ट्र सम्मिलित महिला टीट्वान्टी क्रिकेट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपाली टोली पराजित भएको छ । घरेलु टोली मलेसियाले शुक्रबार नेपाललाई ६ विकेटले हराएको हो । तेस्रो खेलमा पराजित भए पनि नेपाल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

यसअघि नेपाल आफ्नो पहिलो र दोस्रो खेलमा विजयी भएको थियो । नेपालले पहिलो खेलमा गत मंगलबार हङ्कङलाई ६ विकेटले हराएको थियो । नेपालले आफ्नो दोस्रो खेलमा बुधबार कुवेतलाई ३४ रनले पराजित गरेको थियो । नेपाललाई हराए पनि मलेसिया फाइनलमा पुग्न सकेन । प्रतियोगिताको फाइनलमा नेपालले हङ्कङको सामना गर्नेछ ।

टस हारी पहिलो ब्याटिङको निम्तो पाएको नेपाली टोलीले निर्धारित १८ ओभरमा सात विकेट गुमाएर ८३ रनमात्र बनाउन सक्यो । जवाफी ब्याटिङमा ओर्लिएको मलेसियाले भने १६.२ ओभरमा केवल चार विकेट गुमाएर विजयलक्ष्य पूरा गरेको थियो । वर्षाका कारण खेल १८—१८ ओभरको खेलाइएको हो ।

नेपाली टोलीका खेलाडीले शुक्रबार पनि गतिलो ब्याटिङ गर्न सकेनन् । नेपालले २७ रनको कुल स्कोरमै आफ्ना दुबै ओपनरलाई गुमाएको थियो । ओपनर पूजा महतो एक रन बनाउँदै पेभेलियन फर्किएकी थिइन् । अर्की ओपनर काजल श्रेष्ठले १८ रन बनाइन् । उनले २१ बलमा एक चौका पनि हिर्काइन् ।

तेस्रो नम्बरमा क्रिज समाल्न आएकी इन्दु बर्माले ३३ बलमा २० रनको योगदान गरिन् । अनुभवी खेलाडी सीता रानामगर १३ बलमा नौ रन बनाउँदै पेभेलियन फर्किइन् । पाँचौं नम्बरमा क्रिजमा ओर्लिएकी कप्तान रुबिना क्षेत्रीले २३ रन जोडिन् । उनले २६ बलको सामना गरी एक छक्का र दुई चौका हिर्काएकी थिइन् ।

कविता जोशीले अविजित चार रन बनाइन् । बिन्दु रावल एक रनमा अविजित रहिन् । सम्झना खड्काले दुई र कविता कुँवरले एक रन थपे । मलेसियाका बलर नुर दानिया सुहादा, माहिरा इजाती इस्माइली र आइना हमिजाह हासिमले दुई—दुई विकेट लिए ।

मलेसियाका लागि ओपनर आइना अमिजाह हासिमले अविजित ३७ रनको योगदान गरिन् । उनले ३९ बलको सामना गरी तीन चौका पनि हिर्काइन् । चौथो नम्बरमा क्रिज समाल्न ओर्लिएकी माहिरा इजाती इस्माइलीले २४ बलमा एक चौकाको मद्दतले २१ रनको योगदान गरिन् ।

अघिल्ला दुई खेलमा नेपालको बलिङ चले पनि मलेसियाविरुद्घको खेलमा भने बलरहरु पनि जम्न सकेनन् । पूजा महतो, सीता रानामगर र रुबिना क्षेत्रीले एक—एक विकेट लिए । नेपालले अतिरिक्त रुपमा आठ रन दिएको थियो ।

यो शृंखला सकिएपछि नेपालले थाइल्यान्डसँग अभ्यास खेल खेल्नेछ । नेपालले आईसीसी महिला टीट्वान्टी विश्वकपको एसियाली क्षेत्रको छनोट प्रतियोगिताका लागि अभ्यास खेल खेलेको हो । एसियाली क्षेत्रको छनोट प्रतियोगिता अगस्त ३१ देखी सेप्टेम्बर ९ सम्म मलेसियामा हुनेछ ।

Tags

छुटाउनु भयो कि ?