News in Nepali

प्रहरी बनाइदिन्छु भनी दुई लाख रुपैयाँ ठगेको आरोपमा एक जना पक्राउ

Lumbinikhabar Online

प्रहरी बनाइदिन्छु भन्दै एक युवतीबाट दुई लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पाल्पाको तानसेन नगरपालिका-३ भगवती टोल घर भई अहिले काठमाडौंको चन्द्रागिरि नगरपालिका-५ गुर्जधारा बस्दै आएका ५८ वर्षीय नरेश गौतम पक्राउ परेका हुन्।

दाङको लमहीकी २२ वर्षीया युवतीले आफूलाई प्रहरी बनाउने आश्वासन दिएर पटक/पटक गरी दुई लाख ठगी गरेको भन्दै गौतमविरूद्ध किटानी जाहेरी दिएकी थिइन्।

गौतमले प्रहरीका हाकिम र राजनीतिक दलका नेतासँग आफ्नो राम्रो सम्बन्ध रहेको भन्दै प्रहरी बनाइदिने आश्वासन दिएर रकम असुलेको युवतीको जाहेरीमा उल्लेख छ।

चाहेको ठाउँमा प्रहरी अधिकारीको समेत सरूवा वा बढुवा गरिदिन सक्छु भन्दै गौतमले युवतीलाई विश्वासमा पारेर रकम असुलेको प्रारम्भिक अनुसन्धानमा खुलेको दाङका प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले जानकारी दिए।

पक्राउ परेका गौतमबाट ठगिएका अरू पनि कोही भए जाहेरी दिन प्रहरीले अनुरोध गरेको छ।

प्रहरीले आरोपित गौतमलाई साउन २९ गते काठमाडौंबाट नियन्त्रणमा लिएको थियो। काठमाडौंबाट वडा प्रहरी कार्यालय लमही दाङमा ल्याएर उनीमाथि ठगी शीर्षकमा मुद्दा चलाएको छ।

जिल्ला अदालतले साउन २९ गतेदेखि गणना हुने गरी गौतमलाई १२ दिन थुनामा राख्न म्याद दिएको छ।

Tags

छुटाउनु भयो कि ?