धनाढ्यहरूको सम्पत्ति गणना गर्ने प्रसिद्ध म्यागेजिन फोर्ब्सको सूचीमा परेका नेपालका अर्बपति विनोद चौधरीको गत वर्ष मात्रै ४० अर्ब नेपाली रूपैयाँ सम्पत्ति थपिएको छ । उनको कुल सम्पत्ति २०० अर्ब नाघिसकेको छ ।
चौधरी व्यापारीका साथै नेता पनि हुन् । कांग्रेसका बहालवाला सासंद हुन् । राज्य व्यवस्थाको नियम कानुनको परिधिमै रहेर विनोदले त्यो विध्न सम्पत्ति आर्जन गरे होलान् । तर एउटा प्रश्न के हो भने विनोदको गत वर्ष ४० अर्ब सम्पत्ति थपिँदा उनको जीवनमा के त्यस्तो परिवर्तन आयो होला ? एउटा व्यक्ति, परिवारलाई कति सम्पत्ति भए पुग्ला ? र, अर्को प्रश्न विनोदको सम्पत्ति थपिँदा कतिका सम्पत्ति खुम्चिए होलान् ?
संविधानमै समाजवाद उन्मुख अर्थतन्त्रको उडान भरेको नेपालमा यो खालको बहस किन भएन ? नयाँ आएका दल र तिनका सांसदहरूले बढ्दो असमानता, गरिबी, सहरी गरिबीको विषयमा किन आवाज उठाउँदैनन् ? रविहरू किन मौन छन् ? यसै नै विश्व प्रसिद्ध धनी व्यक्तिमध्येमा कहलिएका विनोदको थपिएको ४० अर्ब सम्पत्ति गरिबहरूको भागमा परेको भए हजारौँ गरिबले मुक्ति पाउँथे ? राज्यको राजस्व आम्दानी ४० अर्ब थपिएको भए राम्रा ४०–५० वटा अस्पताल नै बनाउन सकिन्थ्यो ।
त्यस कारण सीमित व्यक्तिले आफ्नो अधीनमा असीमित सम्पत्ति थुपार्दा लाखौँ मान्छेले छाना, नाना, स्वास्थ्य उपचार र आधारभूत सेवा नपाएर तड्पिएका छन् । त्यही भएभरको सम्पत्ति थुपारेका व्यक्ति राजनीतिमा आएर गर्छन् के ? गर्छन् कसका लागि ? उनीहरूले आफू होइन देश बनाउँछन् भन्ने आधार के ? राजनीति भनेको त उच्च तहको समाज सेवा न हो । समाज सेवाको पनि उच्चतम रूप हो ।
भएभरका सम्पत्ति थुपारेर लाखौँ मान्छेलाई हेरेको हेरै पार्ने विनोद चौधरीहरूले राजनीति गर्नुको अर्थ र उपादेयता के ? देशकै सबैभन्दा धनी व्यक्ति उनी हरेक वर्ष सबैभन्दा बढी राज्यलाई कर तिर्ने पहिलो व्यक्ति किन बन्दैनन् ?
एक हिसाबले हेर्दा विनोद चौधरीले त राजनीति होस् या व्यापार सबै देखाएरै गरेका छन् । हो उनले धेरैलाई रोजगारी पनि दिएका छन् । राज्यलाई केही कर पनि तिरेका छन् । उद्यमशीलता सिकाएका छन् । उनले जे गरेका छन् कानुनले दिएकै काम गरेका छन् । ज्ञान, सीप र क्षमता प्रदर्शन गरेर आफ्ना लागि गरेका छन् । तर यहाँ राजनीतिभित्रका आडम्बरीहरूको चर्तिकला सुन्दा घिन पनि लाग्छ ।
राजनीतिका सुरुवाती दिनहरूमा चप्पल पड्काएर आएकाहरू अहिले करोड, करोडका गाडी चढ्ने, अर्बौँ सम्पत्तिका मालिक भएका छन् । धेरै जसो तस्करी, जग्गा दलाली, सहकारी ठगी, भ्रष्टाचारीहरू साना–ठुला नेता नै मुछिएका देखिन्छन् । त्यो छिपेको छैन, बाहिर आइसकेको छ ।