नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले अधिकार माग्दा थुनिएका र राज्यसँग लुकिछिपी बाँच्न बाध्य बनाइएका थारूलाई उन्मुक्ति दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद चौधरीले अधिकार माग्दा थुनिएका थारुहरुलाई जेलमुक्त गर्नुपर्ने र फरार घोषणा गरिएकाहरूलाई उन्मुक्ति दिनुपर्ने माग गरे ।
‘आज भाद्र ७ गते, टिकापुर घटनाको आठ वर्ष बितेको छ,’ उनले भने, ‘अहिले धेरै थारुहरु जेल जीवन बिताइरहेका छन्, अरु केही देशभित्र र बाहिर लुकीछिपी बसिरहेका छन् । म सबै थारुहरुलाई उन्मुक्तिका लागि आग्रह गर्दछु । किनकि थारु आन्दोलन विशुद्ध राजनीतिक आन्दोलन थियो ।’
उनले थारुहरूले राज्यबाट भएको दमन र विभेदकाविरुद्ध आवाज उठाएर अधिकार माग्दा भएको घटनालाई सरकारले अपराधीकरण गर्ने प्रयास गरेको बताए । ‘थारुहरुले आफ्नो हक, अधिकार र पहिचानको लागि आन्दोलन गरेका थिए ।
त्यसलाई त्यहीरुपमा बुझ्नु आवश्यक छ । त्यसकारण थारुहरुले अहिले पनि राज्यबाट दमन र विभेद भोगिरहेका छन्, यसको समाधान भनेको राज्यले थारुलाई अधिकार दिनु हो कि फेरि थारुहरु जुर्मुराएर आन्दोलनमा उत्रिनुपर्ने हुन्छ । त्यसकारण थारुहरुलाई जेलमुक्त गरियोस् ।’