News in Nepali

तत्काल गठबन्धन भत्किने वा हामी बाहिरिने अवस्था छैन : नेपाल

Lumbinikhabar Online

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले हालको सत्ता गठबन्धन तत्काल भत्किने वा आफ्नो पार्टी गठबन्धनबाट बाहिरिने अवस्था नरहेको बताएका छन् । मंगलबारदेखि सुरू भएको पार्टीको केन्द्रीय कमिटीको छैटौँ बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष नेपालले वर्तमान सत्ता गठबन्धनले पाँच वर्षसम्मै स्थिर सरकार, सुशासन र भ्रष्टाचारको अन्त्य गर्ने आशा र विश्वासको सञ्चार गरेको दाबी गरे ।

‘अहिले तत्काल राजनीतिक परिस्थिति र गठबन्धन बदलिने र हामी गठबन्धनबाट बाहिरिने अवस्था छैन,’ अध्यक्ष नेपालले भने, ‘यो गठबन्धन वर्तमान संसद्‌को संरचनाअनुसार सरकार निर्माण र सञ्चालनका निम्ति बनाइएको गठबन्धन हो । यो दीर्घकालीन होइन, तर तत्काल फेरबदल हुने अवस्था पनि छैन ।’

उनले समाजवादी मोर्चाले पार्टी कमजोर हुन्छ भनेर गलत प्रचार गरिएकोप्रति स्पष्ट पारे । ‘समाजवादी मोर्चामा रहँदा पार्टी कमजोर हुन्छ भन्ने होइन । मोर्चामा रहनु भनेको त्यसैमा विलय हुने भन्ने होइन, यसले पार्टीको अस्तित्व समाप्त हुने पनि होइन,’ उनले भने, ‘यो कार्यगत एकताका लागि बनाइएको मोर्चा हो । मोर्चामा बस्दैमा पार्टीले आफ्ना गतिविधि छाड्नुपर्ने होइन ।’

उनले विगतदेखि नै कम्युनिस्ट पार्टीहरूले मोर्चा बनाएर काम गर्ने गरेको अभ्यास रहेको बताए ।

अध्यक्ष नेपालले गठबन्धनमा पार्टीले योगदान मात्रै गर्ने, तर पार्टीले कुनै पनि लाभ नपाउने अवस्थाको अन्त्य गर्न गठबन्धनमा सहमति भएको बताए । ‘विगतका कतिपय घटनामा झैँ गठबन्धनलाई हामीले योगदान मात्रै गर्ने, तर गठबन्धनले हाम्रो भूमिकालाई आवश्यक स्थान नदिने अवस्था नआओस् भनेर हामीले गठबन्धनलाई सचेत पारेका छौँ,’ उनले भने, ‘आगामी दिनमा ती कमजोरी हुन नदिने सहमति भएका छन् । सङ्घीय सरकारमा हाम्रो पार्टीबाट दुई जना मन्त्री जानुभएको छ, प्रदेशमा पनि हाम्रो सहभागिता छ, अन्य सहभागिताका विषयहरूमा पनि छलफल चलिरहेकै छ ।’

Tags

छुटाउनु भयो कि ?