प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ भइरहेको छ । श्रेष्ठले सर्वोच्च अदालतको नेतृत्व गर्ने अवसर पाएको खण्डमा गर्ने कामको अवधारणापत्र र कार्ययोजना प्रस्तुत गरेपछि सांसदहरूले प्रश्न गरिरहेका छन् ।
सोमबार जारी सुनुवाइका क्रममा एमालेका सचेतकसमेत रहेका सांसद महेश बर्तौलाले न्याय महँगो भएको भन्नेबारेमा प्रश्न गरेका छन् । उनले अन्यायमा परेका तर पैसा नभएकाहरू न्याय माग्न अदालतसम्म पुग्न नसकेको भन्दै प्रश्न गरेका छन् । ‘न्याय महँगो भयो भनिन्छ । न्याय महँगो बारका कारणले भयो कि बेन्चका कारणले ?’ बर्तौलाले प्रश्न गरेका छन् ।
आफ्नो कार्याकालमा न्याय सहज र सुपथ एवं पारदर्शी बनाउने विषयमा कसरी काम गर्ने योजना छ भनेर पनि बर्तौलाले सोधेका छन् । ‘न्यायालयमा न्याय खरिदबिक्री हुन्छ भन्ने नागरिकमा पर्ने अवस्थामा कसरी न्याय सम्पादन छिटो, छरितो, पारदर्शी रूपमा सम्पादन हुन्छ ?’ उनले थपे, ‘पैसा नभएकाले न्यायालयको ढोकासम्म आउन नसक्ने स्थिति छ, तिनका बारेमा के सोच्नुहुन्छ ?’
सर्वोच्च अदालत र उच्च अदालतमा खाली रहेका न्यायाधीशका पदपूर्ति कसरी गर्ने योजना रहेको छ भन्ने प्रश्न पनि बर्तौलाले गरेका छन् । यति ठूलो संख्यामा न्यायाधीश पद रिक्त रहनु न्यायालयका लागि विडम्बनाको विषय भएको उनले बताए । न्यायालय नागरिकको भरोसाको अन्तिम केन्द्र भएको भन्दै बर्तौलाले नागरिकमा विश्वास जगाउने काम गर्न आग्रह गरेका थिए ।