भारतले निर्यात रोक्ने उद्देश्यका साथ प्याजको निर्यातमा महसुल बढाएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार भारतले शनिबारदेखि लागू हुने गरी प्याजको निर्यातमा थप ४० प्रतिशत निर्यात महसुल लगाउने घोषणा गरेको हो ।
भारतको यस्तो निर्णयले नेपाली बजारमा प्याजको मूल्य महँगो हुनेछ । भारतले हरेक वर्ष मुख्य चाडपर्व नजिकिँदै गएपछि प्याजको निर्यातमा अवरोध गर्दै आएको छ ।
भारतको अर्थ मन्त्रालयअन्तर्गत अप्रत्यक्ष कर तथा भन्सार बोर्डले २ भदौदेखि १५ पुससम्म लागू हुने गरी प्याज निर्यातमा महसुल बढाएको हो । भारत विश्वको सबैभन्दा ठूलो प्याज निर्यातकर्ता मुलुक हो ।
केही दिनयता आन्तरिक बजारमा प्याजको मूल्य बढेपछि यस्तो निर्णय भएको सरकारी अधिकारीहरुले बताएका छन् । नेपालको मुख्य प्याजको स्रोत मुलुक भारत हो । गत वर्ष नेपालले भारतबाट ६ अर्ब ७५ करोड रुपैयाँको १८ करोड किलो प्याज आयात गरेको थियो ।
नेपाली बजारमा अहिले प्याज प्रतिकिलो ६१ रुपैयाँ थोक मूल्यका खरिद बिक्री भइरहेको छ । नेपाल आलु प्याज व्यवसायी संघका अनुसार भारतको निर्णयले नेपालको बजार पनि प्रभावित हुनेछ । अहिले भारतबाट नेपालमा खरिद गरेर ल्याउँदा प्याजको प्रतिकिलो मूल्य ५० रुपैयाँ हराहारी पुग्ने गरेको संघका महासचिव प्रकाश गजुरेलले बताए ।