स्नातक दोस्रो वर्षको उत्तर पुस्तिका बाहिरबाट लेखाएर परीक्षा केन्द्रमा बुझाउने क्रममा पर्सा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । बीबीएस दोस्रो वर्षको परीक्षा चलिरहेको अवस्थामा इकोनोमिक्स विषयको प्रश्नपत्र र उत्तर पुस्तिका परीक्षा केन्द्रबाट बाहिर निकाली अन्य व्यक्तिमार्फत उत्तर पुस्तिका लेख्न लगाई पुनः उत्तरपुस्तिका परीक्षा केन्द्रमा बुझाउने क्रममा वडा प्रहरी कार्यालय विर्ताले दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पर्साको कालिकामाई गाउँपालिका–१ रबिदास टोलका ६१ वर्षीय मोहन यादव र वाराको विश्रामपुर गाउँपालिका– १ कल्याणपुर निवासी विनोद स्वर्णकार रहेका छन् ।
प्रहरी निरीक्षक विदुर सिवाकोटीको टोलीले विशेष सूचनाको आधारमा वीरगन्ज महानगरपालिका–४ विर्तास्थित त्रिजुद्ध माध्यमिक विद्यालयमा चलिरहेको परीक्षामा निगरानी बढाएका थिए ।
पक्राउ परेका यादव ठाकुरराम बहुमुखी क्याम्पसबाट हालै सेवानिवृत्त भएका हुन् । उनले परिवर्तन गरेको उत्तर पुस्तिका उनकै छोराबुहारी रहेको खुलेको छ । प्रारम्भिक अनुसन्धानको क्रममा उक्त सिम्बल नम्बरको परीक्षार्थी पक्राउ परेका मोहन यादवको जेठो छोराकी श्रीमती विमाकुमारी यादव भएको खुलेको प्रहरी नायव उपरीक्षक दीपक गिरीले जनाए ।
प्रहरीका अनुसार यादवले शंकास्पद तरिकाले फाइल बोकी परीक्षा केन्द्रभित्र रहेको कम्प्युटर कक्षभित्र रहेको कार्यालयमा प्रवेश गरेर आफूले बोकेको फाइल विनोद स्वर्णकारलाई दिएका थिए । स्वर्णकार त्रिजुद्ध माविको कम्प्युटर शिक्षक तथा हाल सञ्चालन रहेको परीक्षाको परीक्षा प्रमुखसमेत हुन् ।
यादवले दिएको फाइल खोली हेर्दा त्रिभुवन विश्वविद्यालय (टीयू) को सिम्बोल नम्बर र बीबीएस दोस्रोको इकोनोमिक्स विषयको ८ पाना उत्तरपुस्तिका फेला परेको प्रहरी निरीक्षक सिवाकोटीले बताए । ‘परीक्षा अमर्यादित बनाउन खोजेका यादव र स्वर्णकारलाई नियन्त्रणमा लिई शिक्षा ऐन २०२८ बमोजिम जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ,’ डीएसपी गिरीले बताए ।