News in Nepali

रुसको पेट्रोल स्टेसनमा आगलागी हुँदा ३० जनाको मृत्यु, १ सयभन्दा धेरै घाइते

Lumbinikhabar Online

रुसको दक्षिणी क्षेत्र दागेस्तानस्थित एक पेट्रोल स्टेसनमा आगलागी हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ । साथै १ सयभन्दा धेरै घाइते भएका छन् । मृत्यु हुनेमा तीन जना बालबालिकाहरू पनि रहेको सरकारी अधिकारीहरूले बताएका छन् ।

दागेस्तानको राजधानी माखाचकालाको राजमार्गस्थित सडक किनारको अटो रिपेयरबाट सोमबार राति सुरु भएको आगलागीले पेट्रोल स्टेसनलाई विस्फोट नै गराएको थियो । रोयटर्समा प्रकाशित समाचार अनुसार प्रत्यक्षदर्शीहरूले उक्त आगलागी युद्ध जस्तै देखिएको प्रतिक्रिया दिएका छन् ।
रुसी सरकारले मंगलबार बिहान विस्फोटमा १ सय ५ जना मानिस घाइते भएको र ३० जना मानिसको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको छ । मृत्यु हुनेमध्ये तीन जना बालबालिका थिए । साथै घाइतेमध्ये १३ जना बालबालिका छन् ।

स्थानीय समय अनुसार सोमबार राति ९ बजेर ४० मिनेटमा विस्फोट भएको अलजजिराको समाचारमा उल्लेख छ । यद्यपि विस्फोटको कारण र त्यसको प्रकृतिबारे यकिन नभइसकेको सरकारी अधिकारीहरूले बताएका छन् ।

स्थानीयहरूले कार पार्किङ गरिराखेको ठाउँबाट आगो सुरु भइ पेट्रोल स्टेसनतर्फ फैलिएको थियो । साथै आगो निभाउनका लागि अग्नि नियन्त्रकहरूको टोली घटनास्थलमा पुग्न साढे ३ घन्टाभन्दा धेरै समय लागेको थियो ।

 

Tags

छुटाउनु भयो कि ?