नेपाल कम्युनिस्ट पार्टी बहुमतको नाममा चन्दा माग्ने दुईजनालाई तुलसीपुर प्रहरीले पक्राउ गरेको छ। सल्यान त्रिवेणी गाउँपालिका– ५ फालाबाङका धनराज परियार (तुफान) र छत्रेश्वरी गाउँपालिका– १ दमाचौरका चन्द्रप्रकाश विकलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका परियार नेकपा एमाले त्रिवेणी गाउँपालिकाका सचिव तथा पत्रकार महासंघ सल्यानका साधारण सदस्यसमेत हुन्। तर, उनीहरूले नेकपा बहुमतको लेटरप्याट प्रयोग गरी विभिन्न व्यक्तिसँग चन्दा मागेको भन्दै प्रहरीले पक्राउ गरेको हो । परियारबाट पत्रकार परिचयपत्रसमेत बरामद भएको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार तुलसीपुरको हिमाल एकेडेमीका प्रिन्सिपल मधुसूदन केसीसँग १० लाख, सल्यानको कालिका माविका शिक्षक वामदेव अधिकारीसँग पाँच लाख, तुलसीपुर– ७ पर्सेनीका इन्द्रबहादुर वलीसँग एक लाख, तुलसीपुर– १८ बेलझुन्डीका जानका बस्नेतसँग एक लाख रुपैयाँ जबर्जस्ती चन्दा मागेको आरोपमा पक्राउ गरिएको हो।
उनीहरूले मागेजति चन्दा नदिए घरमा बम विस्फोट गराउने, हातखुट्टा भाँच्ने र ज्यान मार्नेजस्ता धम्की दिएर चिठी र मोबाइलमा सन्देश पठाउने गरेका बताइएको छ। उनीहरूको कोठाबाट एक थान कम्प्युटर, एक थान प्रिन्टर, एक थान मोबाइल, केही थान चेक, नेकपा बहुमत लेखिएका एक ुय ५३ वटा लेटरप्याड र छाप बरामद गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।
नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्ज, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा रुपन्देही एवं जिल्ला प्रहरी कार्यालय दाङसहितको सहयोगमा उक्त घटनाबाहिर आएको हो।