नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्नी सापकोटाले विवादित व्यक्ति ल्याहरक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाईएकोबारे टिप्पणी नगर्ने बताएका छन्।
पार्टीको प्रवक्ताको जिम्मेवारी सम्हालेपछि बुधबार पहिलोपटक गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।
भ्रष्टाचार विरोधी अभियान र सुशासनका बारेमा अभियान चलाईरहेको भनिएको सरकारले ल्याहरक्याल लामालाई किन कोषको उपाध्यक्ष बनायो भन्ने पत्रकारको प्रश्नको जवाफमा सापकोटाले भने, ‘नियुक्तिका विषयमा धेरै कुरा बाहिर आइसकेको छ, तपाईंको प्रश्न पनि नोटिसमा लिएको छु टिप्पणी गर्दिन।’
सापकोटाले भन्सार छलेर ल्याईएको १०० किलो सुन प्रकरणमा संलग्नलाई छानबिन गरेर कारबाहीको दायरामा ल्याउने कुरामा प्रधानमन्त्री प्रतिबद्ध रहेको पनि बताए।