News in Nepali

सबै दल मिलेर सरकार बनाउन मुख्यमन्त्री थापाको आग्रह

Lumbinikhabar Online

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशलाई स्थिर सरकार दिनका लागि सबै दल मिल्नुपर्नेमा जोड दिएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा ताप्लेजुङको फुङलिङ नगरपालिकालाई दमकल तथा पिकअप भ्यान हस्तान्तरण गर्न आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

थापाले अहिले पनि सरकार कामचलाउ नै रहेको बताए । ‘सरकारले अझै पूर्णता प्राप्त गरेको छैन । त्यसैले हामी काम चलाऊ अवस्थामै काम गरिरहेका छौँ,’ थापाले भने ।

उनले प्रदेशमा विपद् जोखिम कम गर्न अझ धेरै काम गर्न बाँकी रहेको बताए । उनले स्थानीय तहलाई साधन स्रोत सम्पन्न बनाउन प्रदेश सरकारका तर्फबाट सहयोग निरन्तर हुने पनि बताए । डेंगुको सङ्क्रमण बढेसँगै आएको विपद्को लागि विभिन्न स्थानमा यसअघि सञ्चालित कोभिड अस्पतालमार्फत सेवा दिने तयारी थालिएको थापाको भनाइ छ ।

मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र सञ्चालनको लागि ताप्लेजुङको फुङलिङ नगरपालिकालाई दमकल तथा पिकअप भ्यान हस्तान्तरण गरिएको हो । कार्यक्रममा नगरपालिकाका मेयर अम्मिर मादेन र उपमेयर हिमादेवी ओझाले चाबी बुझेका छन् ।

मन्त्रालयका सचिव सुरेश राउतले अत्यावश्यक केन्द्रले १४ जिल्लामा सेवा प्रदान गर्ने सरकारको योजनाअनुरुप सहयोगका कार्य अघि बढाइरहेको जानकारी दिए । हालसम्म १६ ठाउँमा दमकल वितरण गरिएको राउतले बताए । फुङलिङलाई हस्तान्तरण गरिएको दमक ७३ लाख ७५ हजार र पिकअप ३७ लाखमा खरिद गरिएको हो ।

Tags

छुटाउनु भयो कि ?