News in Nepali

सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित शीर्ष नेताको छलफल सुरू

Lumbinikhabar Online

संसदको गतिरोध हटाउन सभामुख देवराज घिमिरेले शीर्ष नेतासँग छलफल गरिरहेका छन्।

सभामुखको कार्यकक्ष सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली र तीनै पार्टीका प्रमुख सचेतकहरूको छलफल सुरू भएको हो।

सदनको अवरोध हटाउन र संसदीय समितिका सभापतिको निर्वाचनबारे छलफल गर्न शीर्ष नेताहरूलाई बोलाएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।

‘संसदको अवरोध हटाउने र संसदीय समितिका सभापति चयन नै मुख्य विषय हो, सभामुखले प्रमुख सचेतक वा सचेतकसहित उपस्थित हुन भन्नुभएको थियो,’ अधिकारीले भने।

साउन १० गते बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख विपक्षी दल एमालेले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै अवराेध गर्‍यो। त्यसपछिका दुई वटा बैठक पनि सूचना टाँसेर स्थगित भएको थियो।

सदनको अवरोध हटाउने विषयमा सभामुख घिमिरेले साउन १५ र १६ गते प्रधानमन्त्री र विपक्षी दलका नेतासँग दुई-दुईपटक टेलिफोनमा कुराकानी गरेको पनि अधिकारीले जानकारी दिए।

‘त्यसबीचमा प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरूसँग विभिन्न चरणमा ६ पटक भन्दा बढी छलफल गर्नुभएको थियो,’ अधिकारीले भने।

आइतबार पनि सभामुखले सिंहदरवारमा प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए।

प्रतिनिधि सभाको बैठक साेमबार दिउँसो १ बजेलाई बोलाइएको छ। आजको बैठकमा एमाले सांसद टोपबहादुर रायमाझीको निलम्बनको सूचना संसद्मा पढेर सुनाइनेलगायत कार्यसूची रहेको छ।

Tags

छुटाउनु भयो कि ?