नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक यही साउन १५ गते बस्ने भएको छ।
मीनभवनस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने सो बैठकमा पार्टीका विभिन्न तहका बैठक कहिले र कहाँ गर्ने भन्ने विषयमा छलफल हुने उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।
पार्टीको यही साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ गते पोलिटब्युरो र २० र २१ गते केन्द्रीय कमिटी बैठक बोलाइएकामा प्राविधिक कारणले तयारी नपुगेको जनाउँदै ती बैठक स्थगित भएका छन्।
संगठन सुदृढीकरण अभियानको समीक्षा, वैचारिक नीति, कामको विस्तृत योजनाका साथै पार्टी परित्याग गरी गएका केही नेताको पद रिक्त रहेकाले ती पदमा मनोनीत गर्ने विषयमा छलफल गर्नेलगायत विषय बैठकको कार्यसूचीमा छ।
बैठकमा जनसंगठन युवा र विद्यार्थी विभागका काम व्यवस्थापनका लागि कार्ययोजना पारित गरिनेछ। पार्टीमा केही उपाध्यक्षसहितका पदाधिकारी तथा बागमती र लुम्बिनी प्रदेशमा ‘इन्चार्ज’ पद रिक्त छन्।