नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मालाई सेतोपाटीले सोध्यो- अहिले माओवादीमा कति जना केन्द्रीय सदस्य छन्?
उनले तुरून्तै जवाफ दिए- मलाई थाहा छैन।
शर्मालाई थाहा होस् पनि कसरी?
०७८ पुसमा भएको पार्टी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग केन्द्रीय सदस्यका तीन वटा सूची थिए। त्यसपछि अध्यक्षकै तजबिजीमा कति पटक को केन्द्रीय सदस्य थपिए, त्यसको आकँडा शर्मा त परको कुरा माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा पनि छैन।
उपमहासचिव शर्मा माओवादी केन्द्रका संगठन विभाग प्रमुखसमेत हुन्। पार्टीको केन्द्रीय कार्यालय र पार्टीको संगठन विभाग प्रमुखलाई सबैभन्दा बलियो र प्रभावकारी मानिने केन्द्रीय सदस्यको संख्या कति छ भन्ने थाहा छैन भनेपछि माओवादी केन्द्रको भद्रगोलबारे थप व्याख्या गरिरहन पर्दैन।
यही भद्रगोल संगठनबारे पनि करिब डेढ वर्षदेखि शून्यप्राय: रहेका माओवादीका नेताहरू अहिले तरंगित हुन थालेका छन्। यो तरंगले माओवादीभित्र लामो समयसम्म प्रतिस्पर्धी सम्बन्ध रहेका माओवादीका दुई उपमहासचिव जनार्दन शर्मा र वर्षमान पुनलाई नजिक ल्याइरहेको छ। पुन र शर्मा नजिकिनुका पछाडि प्रचण्डको पेलान मुख्य कारण छ। शर्मा र पुन दुबैले सिलसिलेवार रूपमा आफूहरूमाथि नेतृत्वले अन्याय गरिरहेको ठानेका छन्र
पछिल्लो समय प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले दिइरहेका अभिव्यक्ति, उपाध्यक्ष कृष्णबहादुर महरामार्फत् नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई भित्र्याउन गरिएको पहल र अरू नयाँ तथा पुराना पार्टीहरूले उनीहरूको संगठन निर्माण तथा विस्तारमा गरिरहेको मेहनतले पुन र शर्मा दुबैलाई पार्टीमा आफ्नो भविष्य के हुने हो झस्काएको छ।
‘अहिले हाम्रो पार्टीमा उपलब्धिको रक्षा छैन, राम्रा कामको रक्षा गर्ने नेतृत्वको नीति छैन,’ उपमहासचिव शर्माले भने,‘हामी कहाँ पुग्ने हो र कुन बाटो तय गर्ने हो निश्चित दिशा नै छैन।’
पार्टी संगठनको गतिलाई मात्रै हेर्ने हो भने शर्माले भनेझैं माओवादी केन्द्र अहिले ठप्पजस्तै छ।
शान्ति प्रक्रियामा आइसकेपछि २०६४ सालमा माओवादी पहिलो पटक चुनावी प्रक्रियामा सहभागी भयो। त्यसबेला माओवादी समानुपातिकतर्फ ३२ लाख मतसहित पहिलो पार्टी बनेको थियो। ०७० को चुनावमा झन्डै आधा घटेर माओवादीले १६ लाख मत पायो, ०७४मा १४ लाख र गत वर्षको चुनावमा १२ लाख मत पाएको माओवादीको आकार खुम्चिनुमा कार्यकर्ताभन्दा नेताको बढी भूमिका रहेको स्वयं माओवादीका शीर्ष नेताहरू नै स्वीकार गर्छन्। ०७८ पुस ११ गते पार्टीको महाधिवेशनलाई सम्बोधन गर्दै माओवादी कमजोर हुनुको जिम्मेवारी आफैंले लिने स्वयं अध्यक्ष प्रचण्डले बताएका थिए।
त्यसबेला उनले पार्टी कमजोर हुनुको आत्मसमीक्षा आफूले सबैभन्दा धेरै गरेको भन्दै अब पार्टीलाई बलशाली बनाउन भूमिका खेल्ने र त्यसका लागि छिन्नभिन्न भएको माओवादी शक्ति एक हुनुपर्ने बताएका थिए। त्यसपछि पनि अध्यक्ष प्रचण्डले बारम्बार माओवादी कमजोर हुँदै गइरहेको र आफ्नो पार्टी जति कमजोर हुन्छ, जनताको अधिकार उति नै संकुचित हुन्छ भन्दै आएका छन्।
यति धेरै कुरा बुझिसकेका माओवादी अध्यक्ष प्रचण्डले पार्टी संगठनलाई चुस्त बनाउन कुनै भूमिका खेले त? तथ्यहरूले भन्छन्- पार्टीलाई गतिशील बनाउन उनले सिन्को पनि भाँचेका छैनन्।
यद्यपी अब भने पार्टीमा त्यो गुनासो बाँकी नरहने उपाध्यक्ष पम्फा भुसालको भनाइ छ।
‘पार्टी अध्यक्ष प्रधानमन्त्री पनि भइसकेपछि सरकारकै काममा व्यस्त हुनुपर्यो, त्यसैले पनि पार्टीलाई ध्यान नदिएकोजस्तो देखिएको हो,’ भुसालले भनिन्,‘अब अध्यक्ष इटालीबाट कमरेड १२ गते फर्किएपछि १३ गते पदाधिकारीबैठक बस्छौं। बीचमा स्थायी कमिटी बैठक गरेर १७ गतेदेखि बस्ने केन्द्रीय कमिटी बैठकले सबै विषयमा कार्यविभाजन र कार्ययोजना बनाएर अघि बढ्छौं।’
उनले पार्टी जीवन अस्तव्यस्तबारे गुनासा र सुझावहरू आएको र त्यसलाई सम्बोधन गर्नेतर्फ नै आफूहरू केन्द्रीत रहेको बताइन्।
आठौं महाधिवेशन भएको एक वर्षसम्म पार्टी पदाधिकारीसम्म बनाउन सकेनन्। जब पार्टीका पदाधिकारीहरू नियुक्त भए माओवादी झन् चलायमान हुन सकेन। अध्यक्ष प्रचण्डले पार्टी भित्रका नेता-कार्यकर्ताका कारण पार्टीले गति लिन नसकेको आक्षेप लगाइदिए।
गत असार २० गते कीर्तिपुरमा भएको स्ववियू काउन्सिलको भेलामा प्रचण्डले भने- अचेल रैथाने साथीहरू कता हुनुहुन्छ, अत्तोपत्तो छैन बरू अरूले पार्टीको बचाऊ र प्रशंसा गरेका छन्। विप्लवजीले खुलेरै बचाउ गर्न थाल्नुभएको छ।
माओवादीको रैथाने हुनुका नाताले पुन र शर्माले प्रचण्डको त्यो तीर आफूहरूतिरै सोझिएको ठाने। हुन पनि बितेको २५ वर्षयता शर्मा र पुन अध्यक्ष प्रचण्डका अविछिन्न सारथी हुन्। भलै प्रचण्डले यी दुई नेतालाई एक-अर्काविरूद्ध बारम्बार उचालिरहेको माओवादी नेताहरू नै बताउँछन्।
अघिल्लो वर्ष पनि प्रचण्डले कहिले पुनको नजिक भएझैं गरेर त कहिले शर्माको नजिक भएझैं गरेर पार्टीको महासचिवमा देव गुरूङलाई ल्याएपछि पुन र शर्मा दुबैको मन प्रचण्डसँग उज्यालो हुन सकेन।
यद्यपि उनीहरूले खुलेर नेतृत्वको आलोचनाचाहिँ अहिलेसम्म गरेका छैनन्। बरू यी दुई नेताका लागि आफूले जति राम्रो गर्दा पनि जसै नदिएको आक्रोश प्रचण्डले चाहिँ सार्वजनिक रूपमै पोखेका छन्। बरू विप्लवले नेतृत्वको बचाउ र प्रशंसा गरिरहेको तर पार्टीका रैथानेहरू कहाँ छन् अत्तोपत्तो नभएको प्रचण्डको अभिव्यक्ति पछिल्लो उदाहरण हो।
माओवादी उपाध्यक्ष अग्नि सापकोटाले सरकारले सुशासनको क्षेत्रमा गुणात्मक पहल लिइरहेको यही बेलामा त्यसलाई कसरी जनतासमक्ष पुर्याउने भन्ने विषय अहिलेको प्रमुख विषय भएको बताए।
‘सरकारले सुशासनको क्षेत्रमा गुणात्मक पहल लिइरहेको छ, यसलाई संगठनमा रूपान्तरण गरेपछि मात्रै भौतिक शक्तिमा रूपान्तरण हुन्छ,’ सापकोटाले भने,‘यसमा पार्टीको पनि समर्थन हुन जरूरी छ।’
तेस्रो पटक प्रधानमन्त्री भइसकेपछि सुशासन र भ्रष्टाचार नियन्त्रणमा आफ्नो सरकारले राम्रो काम गरिरहेका प्रचण्डको दाबी छ। आफूले राम्रो काम गर्दागर्दै पनि आफ्नै वरिपरिका नेताहरूबाट त्यसको जस नपाएको दु:खेसो प्रचण्डको हो।
वैचारिक र गणितीय दुबै हिसाबले कमजोर धरातलमा बनेको प्रचण्ड सरकार जुनसुकै बेला पनि भत्किन सक्ने अवस्थामा छ।
त्यसैले गणितीय हिसाब-किताबसँगै राम्रा कामहरू समेत गर्नुपर्ने उनको बाध्यात्मक दायित्व पनि हो। सरकारमा जानुअघि नै पनि प्रचण्डले बारम्बार सुशासन र भ्रष्टाचार नियन्त्रण आफ्नो
प्रमुख प्राथमिकता बताउँदै आएका थिए। तर उनले पार्टीका तल्लो पंक्तिबाट सहयोग नपाएकै हुन् भने पनि नेताहरूलाई बोलाएर वा पार्टी कमिटी बैठक डाकेर बोल्नुपर्ने कुरा सार्वजनिक रूपमा गरेर आफूहरूले २५ वर्षदेखि दिइरहेको साथको प्रचण्डले अवमूल्यन गरेको दु:खेसो वर्षमान र जनार्दनहरूको छ।
त्यसैले पनि लामो समयसम्म एकअर्कालाई प्रतिष्पर्धी ठानिरहेका दुई उपमहासचिव वर्षमान पुन र जनार्दन शर्मालाई एउटै कित्तामा उभिने बनायो। भलै शर्मा र पुनबीचको हार्दिकताको श्रृंखला अध्यक्ष प्रचण्डका पछिल्ला गतिविधिले सुरू भएकोचाहिँ होइन।
पार्टी महाधिवेशन भएको निकै समयसम्म पनि प्रचण्डले पदाधिकारीहरू नियुक्त नगरेपछि पुनले स्थायी कमिटी बैठकमै शर्मालाई महासचिव बनाउन प्रस्ताव गरेका थिए। त्यसयता नै यी दुई नेता एक-अर्काप्रति विस्तारै नरम हुँदै आएको देखिन्छ।
तर, त्यसको श्रृंखला चाँहि लामो छ। पार्टी महाधिवेशनका बेला वर्षमान पुन चीनमा उपचाररत थिए। चीनमै रहँदा उनले शर्मालाई महासचिव बनाइए चीनबाटै उम्मेदवारी दिने सन्देश उनले अध्यक्ष प्रचण्डलाई पठाएका थिए। यता जनार्दन शर्मा पनि आफूलाई सहमतिमा महासचिव नबनाइए चुनाव नै लड्ने बताएका थिए।
दुबै नेताहरूको छिनाझप्टीका बीचमा त्यसबेला प्रचण्डले चुनाव गराउने आँट गरेनन्। तर पछि घरी वर्षमानलाई आश्वासन दिने र घरी जनार्दनलाई आश्वस्त पार्ने गरेको बुझेपछि यी नेताहरु झस्किएका हुन्। त्यसपछि स्थायी कमिटीको बैठकमा वर्षमानले जनार्दनलाई महासचिव बनाउनुपर्ने प्रस्ताव गरेका थिए।
‘वर्षमान पुन लामो समय बिरामी पर्नुभयो, जनार्दन शर्मा ६० वर्ष भइसक्नु भयो,’ माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले भने,‘आफैंले थालेको आन्दोलन हेर्दाहेर्दै आँखै अगाडि कसरी मर्न दिने भन्ने दुबै नेताहरूलाई लागेको हुनुपर्छ। उहाँहरूमा अहिले म पद र प्रतिष्ठाभन्दा पनि पार्टी आन्दोलनको माया देख्छु।’
सहयात्रीले भनेझैं पार्टीको माया लाग्नु एउटा कुरा होला, पार्टी छोडेर जानेलाई पुरस्कृत गर्ने र त्यही साथ दिइरहेकाहरूलाई अवसर नदिने प्रचण्ड प्रवृत्तिले पनि उनीहरूलाई स्वाभाविक रूपमा एउटै कित्तामा उभिने बनाएको हो।
‘अहिले विप्लवजी माओवादी केन्द्रमा आउन ४० प्रतिशतको हिस्सेदारी मागिरहनुभएको छ र हाम्रो अध्यक्ष प्रचण्ड पनि लगभग सहमत हुनुहुन्छ भन्ने सुनिन्छ,’ माओवादीका एक केन्द्रीय सदस्यले भने,‘एक त विप्लवजीसँग त्यति धेरै नेताहरू हुनुहुन्न। दोस्रो, पार्टीमै संघर्ष गरेकालाई बेवास्ता गरेर बाहिरबाट आउनेलाई मात्रै ठाउँ दिने हो भने असन्तुष्टि त बढिहाल्छ नि।’
पार्टीमा विप्लवको प्रवेश हुन्छ भन्ने कुराले माओवादीमा त्यति धेरै तनाव छैन, जति तनाव विप्लव महासचिव भएर फर्किँदै छन् भन्नेमा छ।
माओवादी स्रोतका अनुसार विप्लवलाई पार्टीमा सिधै पदाधिकारी बनाएर ल्याउने कुरामा उपाध्यक्ष कृष्णबहादुर महराबाहेक अरू कुनै पदाधिकारीको समर्थन छैन। उनीहरूले प्रचण्डलाई एक्लाएक्लै र कतिपय अवस्थामा दुई तीन जनाको समूहमा भेटेर पनि यो विषयमा सचेत गराइसकेका छन्।
विप्लव माओवादीमा समाहित हुन आउने हुन् कि, पार्टी एकीकरण हो या घरफिर्ती हो पहिले त्यसको निधो हुनु पर्ने पदाधिकारीहरूको आवाज छ। यद्यपि प्रचण्डले भने उनीहरूलाई ठोस जवाफ दिइसकेका छैनन्।
उपाध्यक्ष पम्फा भुसालले पार्टी एकता गर्ने विषयमा सबैको एकमत रहेको र एकताको विषयको पदको बार्गेनिङसँग सम्बन्धित नभएको बताइन्।
सतहमा शर्मा र पुन दुबै पक्षले अहिले महासचिवभन्दा पनि पार्टी एकताको कुरा महत्वपूर्ण भएको बताइरहेका छन्। तर त्यसका लागि एउटा निश्चित विधि हुनुपर्ने र विधिमै अडिएर पार्टी अघि बढ्नु पर्ने आवाज अहिले माओवादीभित्र जबरजस्त उठ्न थालेको छ। तर अध्यक्ष प्रचण्ड र दोस्रो पुस्ताभन्दा तलका अरू नेताहरूका बीचमा बेलाबेलामा सतहमै देखिएको फाटो टाल्ने सुत्र के हो नेताहरू अलमलजस्तै छन्।
‘त्यसैले एउटा विधि बनाऔं, विधिमा अध्यक्ष पनिबस्नुपर्यो,अरू पनि बस्नुपर्यो,’ केन्द्रीय
सदस्य सहयात्रीले भने, ‘विधि बनाउन विधान महाधिवेशन गरौं भनेर हामीले पार्टी नेतृत्वलाई आग्रह गरेका पनि छौं, अब बस्ने केन्द्रीय कमिटी बैठकले त्यसबारे निर्णय गर्ला।’
माओवादी केन्द्रले आगामी साउन १७ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ।
बैठकमा विशेषत: पार्टी संगठनलाई कसरी बलियो बनाउने भन्नेबारे नै छलफल हुने माओवादीले जनाएको छ। केन्द्रीय कमिटी बैठकमा पेश गर्ने दस्तावेजको तयारीमा रहेका नेता शर्माले त्यसअघि देशभर घुमेर कार्यकर्ताको मनस्थिति बुझिसकेका छन्।
त्यही आधारमा केन्द्रीय कमिटी बैठकमा तल्ला कमिटीहरूबाट उठाएका विषय समेटेर प्रतिवेदन पेश गर्ने नेता शर्माले बताए।
‘तल्ला कमिटीहरू ठिकै छन्, माथिबाट पार्टी बिग्रियो भन्ने साथीहरूको कुरा छ, उहाँहरूले सिधासिधै प्रचण्ड, वर्षमान र जनार्दनले पार्टी बिगारेको हो भन्नुभएको छ,’ शर्माले भने,‘यता अध्यक्षले एक्लै छु भन्नुहुन्छ।’
प्रचण्डले पार्टीमा नातावाद, कृपावाद भित्र्याएको आरोप नयाँ होइन। तर पछिल्लो समय त्यो झन् फस्टाएपछि पार्टी सुक्दै जान्छ भन्ने एकाथरि नेता कार्यकर्ताको बुझाइ छ। त्यसैले पार्टीलाई चुस्त, दुरूस्त र बलियो बनाउन आठौं महाधिवेशनले पारित गरेका एजेन्डालाई जस्ताको त्यस्तै लागू गर्नुपर्ने बताउँछन् केन्द्रीय सदस्य रञ्जित तामाङ।
‘पार्टीमा गणेश प्रवृत्तिभन्दा कुमार प्रवृत्तिलाई बढावा दिनुपर्यो, पुरस्कार या दण्ड के दिने हो गुण र दोषका आधारमा हुनुपर्यो,’ तामाङले भने, ‘सबै जनवर्गीय संगठन मोर्चाहरूलाई आन्तरिक निर्वाचन प्रक्रियाबाट सक्रिय बनाएर पार्टीमा एउटा आशाको सञ्चार गर्नुपर्यो, अब ढिला भइसक्यो।’