नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सभापति चुन्न पार्टीका सबै क्रियाशील सदस्यले मत दिने व्यवस्था गर्न प्रस्ताव गरेका छन् । केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकमा बोल्दै नेता पौडेलले पार्टीले उम्मेदवार चयन गर्दा अनिवार्य प्राइमरी इलेक्सनको व्यवस्था गर्नुपर्ने बताए ।
उनले अहिले कांग्रेस संकटको अवस्थामा रहेको भन्दै आत्ममूल्यांकन गरेर सुधारतर्फ अघि बढ्नुपर्ने भन्दै सुझावहरु राखे । ‘कांग्रेस संकटमा छ, म कोही दाइभाइको पक्षमा नभइ एउटा कार्यकर्ताको रुपमा आत्ममूल्यांकन गरेर सुधारको बाटोमा अघि बढाउन आवश्यक छ भन्ने रायसहित सुझावहरु राख्न चाहन्छु,’ उनले अघि भने, ‘अहिले पार्टीको स्वास्थ्यमा गम्भीर समस्या छ। सिटामोलबाट हल हुने अवस्था छैन, सर्जरीकै खाँचो छ ।’
उनले महामन्त्रीले बैठकमा प्रस्तुत गरेको वार्षिक कार्ययोजना अहिलेको परिस्थितिअनुकूल सर्वोत्तम योजना भएपनि त्यतिले मात्रै पार्टीको छवि सुध्रिने अवस्था नरहेको बताए । नेता पौडेलले वर्तमान निर्वाचन प्रणालीमा कसैले पनि बहुमत ल्याउन नसक्ने अवस्था रहेको भन्दै संवैधानिक प्रावधानहरुलाई संशोधन गर्न आवश्यक रहेको बताए ।
‘अहिलेको व्यवस्था भित्रबाट कसैले पनि बहुमत ल्याउने स्थिति रहँदैन र स्थिरता दिँदैन । त्यसैले केही संवैधानिक प्रावधान सुधार्न कांग्रेसले नेतृत्व गर्नुपर्छ,’ उनले भने, ‘ समानुपातिक प्रतिनिधित्व हुनेगरी २०१ सिटको चुनाव होस्। प्रदेशमा पनि समावेशी प्रतिनिधित्व हुने व्यवस्था गरौं । राष्ट्रिय सभा ३५ सदस्य मात्रै हुने व्यवस्था गरौं,’ उनले भने, ‘प्रधानमन्त्री, मन्त्री र मुख्यमन्त्रीमा एकै व्यक्ति दुई पटकभन्दा बढी हुन नपाउने प्रबन्ध गरौँ ।’
नेता पौडेलले गणतन्त्रपछिका सबै भ्रष्टाचार काण्डको निष्पक्ष छानबिनका लागि पार्टीले नेतृत्व गर्नुपर्ने बताए । उनले भ्रष्टाचारमा संलग्न कसैलाई पनि पार्टीले संरक्षण दिन नहुने र निष्पक्ष छानबिनका लागि सहयोग पुर्याउनुपर्ने बताए ।
‘पार्टीको सभापतिसहित नेतृत्व चुन्ने चुनावमा सबै सदस्यले भोट हाल्ने व्यवस्था गरौं । प्राइमरी इलेक्सनको व्यवस्था गरेर टिकट वितरण गरौं । हामीले पार्टीको एउटा व्यक्तिलाई चार पटक भन्दा बढी संघीय सांसद्को टिकट दिनुहुँदैन,’ उनले भने, ‘प्रदेशमा २ पटक र समानुपातिकमा १ पटक मात्रै अवसर दिने प्रबन्ध गरौं ।’
उनले अहिले कांग्रेस तलदेखि माथिसम्म सरकारमा रहेको भन्दै कांग्रेसले सरकारमा रहुन्जेल ठीक ढंगले काम गर्न सके ०८४ को चुनावमा चिन्ता लिनुपर्ने अवस्था नआउने बताए ।