News in Nepali

कांग्रेस बैठकमा अञ्जनी श्रेष्ठको प्रश्न– ‘सबै खल्तीका मान्छे राखेर संगठन कसरी बन्छ ?’

Lumbinikhabar Online

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य अञ्जनी श्रेष्ठले पार्टीमा खल्तीका मान्छेलाई अवसर दिलाउने प्रतिस्पर्धा रहेको भन्दै त्यसरी संगठन नबन्ने बताएकी छन् । केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकमा नेता श्रेष्ठले पार्टीमा युवा नेताहरू पदाधिकारी बनेपछि पार्टीको कार्यशैलीमा सुधार नआएको भन्दै गुनासो गरिन् ।

पार्टीमा योङ महामन्त्रीहरू आउनुभएको छ, केन्द्रीय सदस्यहरू पनि योङ–योङ हुनुहुन्छ । तर पार्टीको अवस्था उही छ, उस्तै कार्यशैली छ,’ उनले भनिन्, ‘अहिले पार्टीको संगठन यस्तो भएको छ कि अवसर दिने, नियुक्ति दिने, मनोनयन गर्ने काम भइरहेकै छ । तर, कोही कसको खल्तीका, कोही कसको खल्तीका, कोही मन्त्रीका, यसरी सबै खल्तीका मान्छेमात्रै राखेर भ्रातृ संस्था कसरी चल्छन् ? पार्टीको संगठन कसरी बन्छ ?’
उनले महामन्त्रीहरूले बैठकमा ल्याएको प्रस्तावले पार्टीमा आशा जगाएको भन्दै त्यसलाई थपघट गरेर यथाशीघ्र कार्यान्वयनमा लैजानुपर्ने बताइन् ।

केन्द्रीय सदस्य श्रेष्ठले चुनावमा पार्टीले गठबन्धन गर्दा चितवनलाई अन्याय भएको गुनासो गरिन् । ‘एउटा चुनावमा गठबन्धन हुन्छ, एउटा विषयमा साझेदारी हुन्छ । तर भएजति सबै चुनावमा गठबन्धन गर्ने त कसरी मिल्छ ? नभए पार्टी अलग–अलग हुनुको के अर्थ ? त्यसमाथि चितवनमा त कांग्रेसले जतिपटक चुनाव आउँछ, सबैमा पद गुमाउनुपर्छ,’ उनले भनिन्, ‘सभापतिज्यू, अनि हामी कांग्रेसमा किन लाग्ने ? सबै पद जति अरुलाई छोड्नका लागि चितवनका बासिन्दाले कांग्रेसमा किन लाग्ने ?’

Tags

छुटाउनु भयो कि ?