News in Nepali

बेइजिङमा व्यस्त छन् १०० वर्षका पूर्वअमेरिकी विदेश मन्त्री

Lumbinikhabar Online

अमेरिकाका पूर्वविदेश मन्त्री हेनरी किसिन्जर केही दिनयता चीनको राजधानी बेइजिङमा छन्। पछिल्लो समय अमेरिकाको तनावपूर्ण सम्बन्ध रहेको चीनमा उनले उच्च राजनीतिक भेटघाट गरिरहेका छन्।

चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार मंगलबार किसिन्जरले चीनका रक्षा मन्त्रीसँग भेट वार्ता गरेका थिए। बुधबार उनले चीनका उच्च कूटनीतिज्ञ एवं पूर्वविदेश मन्त्री वाङ यीसँग छलफल गरेका छन्।

भेटवार्ताका क्रममा चीन-अमेरिका सम्बन्धका विविध आयामका विषयमा कुराकानी भएको बताइएको छ।

लामो समयपछि गत जुनमा अमेरिकाका विदेश मन्त्री एन्टोनी ब्लिन्केनले बेइजिङ भ्रमण गरेका थिए। उनको भ्रमणपछि अहिले बेइजिङमा उच्च अमेरिकी अधिकारीहरू ओइरिन थालेका छन्। केही दिनअघि अमेरिकाकी अर्थ मन्त्री जेनेट एलेन बेइजिङ उत्रिएकी थिइन् भने अहिले अमेरिकाका जलवायु दूत तथा पूर्वविदेश मन्त्री जोन केरी पनि बेइजिङमै छन्।

अमेरिकाबाट औपचारिक भ्रमण बाक्लिएका बेला गत मेमा १०० औं जन्मदिन मनाएका किसिन्जर अचानक बेइजिङ पुगेका हुन्।

बेइजिङमा किसिन्जरले मंगलबार भेटेका चिनियाँ रक्षा मन्त्री ली साङ्फूलाई अमेरिकाले प्रतिबन्ध लगाएको छ।

अमेरिकाको विदेश मन्त्रालयले भने किसिन्जरको भ्रमणबारे सरकारलाई कुनै जानकारी नभएको र उनी नागरिकका हिसाबले चीन भ्रमणमा गएको बताएको छ।

किसिन्जरले पनि आफू ‘चीनको पुरानो मित्र’ का रूपमा बेइजिङ आएको बताएका छन्।

अमेरिका-चीन सम्बन्धमा किसिन्जरको भूमिका महत्वपूर्ण छ। सन् १९७१ मा किसिन्जरले गोप्य रूपमा बेइजिङको भ्रमण गरेका थिए। त्यतिबेलासम्म अमेरिकाले जनवादी गणतन्त्र चीनलाई मान्यता दिएको थिएन।

अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार रहेका बेला किसिन्जरले गरेको त्यही भ्रमणले चीन-अमेरिका सम्बन्धको आधार तयार पारेको थियो। उनको भ्रमणको अर्को वर्ष तत्कालीन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले बेइजिङ भ्रमण गरेका थिए। सन् १९७९ मा अमेरिकाले जनवादी गणतन्त्र चीनलाई मान्यता दिएको थियो।

किसिन्जरको त्यही भूमिकाका कारण चिनियाँहरू उनलाई आफ्नो शुभेच्छुक ठान्छन्।

मंगलबार चिनियाँ रक्षा मन्त्री साङ्फूसँगको भेटमा किसिन्जरले दुबै देशले अहिले देखिएका समस्यालाई समाधान गर्नुपर्ने बताएका थिए। चीन र अमेरिका युद्धमा जाँदा दुबै देशका नागरिकलाई राम्रो नहुने किसिन्जरले बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ।

व्यक्तिगत भ्रमणका गएकाले किसिन्जर कहिलेसम्म बेइजिङमा रहन्छन् भन्ने खुलेको छैन।

Tags

छुटाउनु भयो कि ?