दक्षिण कोरियामा गत साताको भारी वर्षा र बाढीका कारण ५० जनाको मृत्यु भएको छ भने अन्य सातजना बेपत्ता भएका छन्। आज बिहान डुबेको बसबाट त्यसका चालकसहित चारजनाको शव निकालिएको थियो।
सरकारी अधिकारीका अनुसार उत्तरी ग्याङसङ प्रान्तमा २१ र मध्यचुङचेङ प्रान्तमा १९ जनाको मृत्यु भएको हो। ग्याङसङ प्रान्तमा ३४ जना घाइते भएका छन्। देशभरका बाढीपहिरामा परी देशभर ५० जनाले ज्यान गुमाएकाे योनहाप समाचार समितिले जनाएको छ
पछिल्ला दिनमा लगातार परेको वर्षाले देशभरका अधिकांश भूभाग डुबानमा परेका छन्। आपतकालीन सेवाका अधिकारीले देशका अन्य भागमा अन्य सातजनाले ज्यान गुमाएकाे बताएका छन्। गत साता पाँच सय मिलिमिटरभन्दा बढी वर्षा भएको अभिलेख गरिएका प्रदेशमा भारी वर्षाको चेतावनी जारी गरिएको थियो।
जुलाई ९ देखि मध्य र तल्लो क्षेत्रमा पाँच सय मिलिमिटरभन्दा बढी वर्षा भएको छ। गोन्जु र दक्षिण चुङचेओङ प्रान्तमा ६ सय २६ मिलिमिटर, छेउङयाङ नजिकैको काउन्टीमा ६ सय १४ मिलिमिटर, सेजोङको मध्य सहरमा पाँच सय ८० मिलिमिटर र उत्तरको मुङयोङ र ग्योङसाङ प्रान्तमा पाँच सय २२ मिलीमिटर वर्षा भएको थियो।
उत्तरी ग्योङसाङ प्रान्तमा सातजना बेपत्ता छन्। बाढीका कारण घर भत्किँदा र पहिरोमा परेर मुलुकभर ज्यान गुमाउनेको संख्या बढेको छ। मध्यसहर ओसोङमा बाढीले बगाएको भूमिगत सुरुङमा फसेका सवारीसाधनबाट आइतबार राति सातवटा शव निकालिएको थियो।
अविरल वर्षाबाट प्रभावित १३ वटा सहरका दश हजार पाँच सय ७० जना विस्थापित भएका छन्। सार्वजनिक सुविधाहरूको क्षतिको संख्या सात सय ८९ पुगेको छ भने निजी सम्पत्तिको पनि व्यापक नोक्सानी भएको छ।
तीन सय ५२ वटा निजी सम्पत्तिमा बाढीले क्षति भएको, एक सय ४६ वटा सडक भत्किएका तथा एक सय ३९ घर बगेका योनहाप समाचार समितिले जनाएको छ। एघार हजारभन्दा बढी बाढीपीडितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।