News in Nepali

अर्थमन्त्री महत र चिनियाँ समकक्षी लिउबीच भेटवार्ता

Lumbinikhabar Online

अर्थमन्त्री प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच द्विपक्षीय भेटवार्ता भएको छ । भारतको गुजरातस्थित गान्धीनगरमा जारी जि–२० का अर्थमन्त्रीहरूको बैठकका क्रममा उनीहरूबीच भेटवार्ता भएको हो । सो वार्तामा दुई देशबीचको ऐतिहासिक सम्बन्ध तथा सहयोग आदान–प्रदानका विविध विषयमा कुराकानी भएको मन्त्री महतले जानकारी दिए ।

वार्तामा आपसी हितका विविधि विषयका साथै एकअर्काको चासो र सरोकारहरूप्रति दुवै देश संवेदनशील रहेको बारेमा पनि छलफल भएको थियो । वार्ताका क्रममा मन्त्री महतले चीनले नेपालको विकासका क्षेत्रमा पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए ।

मन्त्री महतले नेपाल र चीनबीचका महत्त्वपूर्ण सीमानाकाहरूबाट दुई देश जोड्ने सडक परियोजनाहरू सहयोगको महत्त्वपूर्ण क्षेत्र हुनसक्ने र दुवै देशका सम्बन्धित निकायहरूले यसबारेमा गृहकार्य गरी छिट्टै अगाडि बढाउने विश्वास पनि व्यक्त गरे ।

वार्ताका क्रममा चिनियाँ अर्थमन्त्री लिउले नेपालको विकासका क्षेत्रमा चीन सदैव सहयोगी हुन चाहेको उल्लेख गर्दै दुई देशबीचका सहयोग परियोजनाहरू चाँडै कार्यान्वयनमा आउने विश्वास व्यक्त गरेका थिए ।

 

Tags

छुटाउनु भयो कि ?