News in Nepali

पत्नीशोकमा रहेका प्रधानमन्त्री दाहाललाई राष्ट्रपतिको समवेदना सन्देश

Lumbinikhabar Online

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधनमा दुःख व्यक्त गर्दै परिवारका सदस्यलाई समावेदना प्रकट गरेका छन् । राष्ट्रपति पौडेलको समवेदना सन्देश लिएर राष्ट्रपति कार्यालयका पदाधिकारीहरू तथा राष्ट्रपति पौडेलका परिवारका सदस्यहरू प्रधानमन्त्री निवास वालुवाटार पुगेका थिए ।

राष्ट्रपति पौडेलको सन्देश राष्ट्रपति कार्यालयका सचिव डिल्लीराज शर्माले प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गरेका थिए । सशस्त्र सङ्घर्षलगायत सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि भएका आन्दोलनहरूमा उनको भूमिका महत्त्वपूर्ण रहेको राष्ट्रपति पौडेलको समवेदना पत्रमा उल्लेख छ ।‘

समाज रूपान्तरण र राजनीतिक परिवर्तनमात्र नभएर सम्माननीय प्रधानमन्त्री दाहालको राजनीतिक छवि एवम् कदलाई सफलतापूर्वक यो उचाइसम्म ल्याउन विगतका कष्टकर दिनहरूमा सीताको साथ तथा सहयोग उदाहरणीय र अनुकरणीय छ’, राष्ट्रपति पौडेलले समवेदना पत्रमा भनेका छन् ।

राष्ट्रपतिको सन्देश बुझेपछि प्रधानमन्त्री दाहालले राष्ट्रपति पौडेलको समवेदनापत्र अत्यन्तै मार्मिक भएको बताउँदै आभार व्यक्त गरे। दाहालले सीताको निधनलगत्तै टेलिफोन गरी दुःख व्यक्त गर्ने क्रममा राष्ट्रपति र आफू दुवै भावविह्वल भएको सुनाए । ‘राष्ट्रपतिज्यू र सीताको सम्बन्ध दाजु र बहिनीको थियो । त्यसकारण पनि उहाँ निकै भावविह्वल हुनुभयो,’ दाहाललाई उदृत गर्दै राष्ट्रपतिको सचिवालयले भनेको छ ।

Tags

छुटाउनु भयो कि ?