News in Nepali

उत्तरी नाका नखुल्दा कार्मारोङबासी चिन्तित

Lumbinikhabar Online

जिल्लाको उत्तरी नाका नखुल्दा कार्मारोङबासी चिन्तित देखिएका छन् । कोरोना महामारीका कारण चार वर्षदेखि बन्द भएको मुगु उत्तरी नाक्चेनाङ्ला व्यापारिक नाका यो वर्ष पनि नखुल्ने संकेत देखिएपछि मुगुम कार्मारोङ गाउँपालिकाका स्थानीय चिन्तित बनेका हुन् ।

चार वर्षदेखि बन्द भएको उत्तरी नाका यो पटक पनि नखुल्ने संकेत देखिएको मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । ‘नाका खोल्नु भन्दा एक महिना अगाडि हामी जनप्रतिनिधिलाई तिब्बतबाट खबर आउँथ्यो,’ उनले भने, ‘तर अहिलेसम्म कुनै खबर आएको छैन ।’

मुगु र तिब्बतको सिमाना हृयाजिमारमा साउन महिनाको १५ दिन तिब्बती अस्थायी हाटबजार लाग्नुअगावै चीन सरकारले जनप्रतिनिधिलाई सीमा क्षेत्रमा डाकेर व्यापारको विषयमा छलफल गर्ने गरेको उनले सुनाए । ‘साउन लाग्न थालिसक्यो तिब्बतबाट कुनै जानकारी आएको छ,’ उनले भने । तिब्बतबाट जानकारी नआउनु भनेको नाका नखुल्ने संकेत भएको उनले बताए । चार वर्षसम्म उत्तरी नाका नखुल्दा कार्मारोङबासीलाई नुन, चामल, तेल, मैदा, चिनी, घ्यू लगायत खाद्य किन्न सास्ती भएको छ । उत्तरी नाका नखुल्दा महँगीको मार खेप्नु परेको उनको भनाइ छ ।

चार वर्षअघिसम्म चीनले १५ दिनको लागि मात्र उत्तरी नाका खोल्दा मुगुम कार्मारोङ गाउँपालिका भित्रका करिब १७ वटा बस्तीका स्थानीय घोडा, खच्चर, चौंरी र झोवा लिएर तिब्बतमा खाद्यवस्तु किन्ने र जडिबुटी बेच्ने जाने गर्थे । चार वर्षदेखि मुगु तिब्बत उत्तरी नाका सुनसान छ ।

 

Tags

छुटाउनु भयो कि ?