News in Nepali

संसद अवरोध खुलाउन प्रधानमन्त्री प्रचण्ड, देउवा र ओली छलफल गर्दै

Lumbinikhabar Online

संघीय संसद्को अवरोध खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरू बस्दैछन्।

प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजेलाई बोलाइएको छ। त्यसअघि प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा छलफल हुन लागेको हो।

‘गतिरोध अन्त्यका लागि शीर्ष नेताहरू दिउँसो १ बजे छलफल गर्ने तयारी रहेको बुझेका छौं,’ एमालेका एक नेताले सेतोपाटीसँग भने।

प्रमुख दलका शीर्ष नेताहरूबीच आइतबार पनि छलफल भएको थियो। सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरण दिने र एमाले अवरोध हटाउन तयार हुने सहमति भए पनि संसद् भवन पुगेपछि बिथोलिएको थियो।

प्रधानमन्त्रीको सचिवालयले गत असार २१ गते निकालेको प्रेस विज्ञप्तिप्रति ओलीले आपत्ति जनाएपछि हिजो अवरोध हट्न नसकेको बताइएको छ।

आज त्यसलाई पनि सम्बोधन गरेर प्रधानमन्त्रीले स्पष्टीकरण दिने तयारी गरिरहेको उनको सचिवालयले जानकारी दियो।

Tags

छुटाउनु भयो कि ?