News in Nepali

लागुऔषध नियन्त्रणमा आक्रामक बन्दै अछाम प्रहरी

Lumbinikhabar Online

अछाम जिल्लामा पछिल्लो समय लागुऔषधको कारोबार बढ्न थालेपछि प्रहरीले त्यसको जालो भत्काउने अभियान थालेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा प्रहरीमा लागुऔषधको एउटा मात्रै मुद्दा दर्ता थियो भने आव २०७७/७८ मा दुई मुद्दा दर्ता भए। आर्थिक वर्ष २०७९/८० मा यो संख्या बढेर पाँच पुगेको छ।

अहिलेसम्म पक्राउ परेका सात पुरुष र तीन महिला गरी जम्मा १० मध्ये तीन जनालाई कारागार चलान गरिएको छ भने ६ जना धरौटीमा छुटेका छन् । अर्का एकविरुद्धको मुद्दामा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले जानकारी दिए। ‘लागुऔषधको जालो डरलाग्दो गरी फैलियो’, उनले भने, ‘यो भत्काउने अभियानमा छौँ।’

प्रहरी निरीक्षक बिष्टका अनुसार लागुऔषधको सेवन र कारोबारमा विद्यालय र क्याम्पस पढ्ने २० देखि २५ वर्ष उमेर समूहका विद्यार्थी सबैभन्दा बढी संलग्न देखिन्छन् । उनीहरुले अफिम, नाइट्रोसन, नाइट्रोभ्याट, प्रोक्सीभोन, नोर्फिन, कोडिनजस्ता लागुपदार्थ सेवन गर्ने गरेका पाइएको छ।

प्रहरीका अनुसार केहि मेडिकल व्यवसायीले समेत लागुऔषध बेच्ने गरेको भेटिएको छ। उनीहरु मध्ये बान्नीगढीजयगढ गाउँपालिकाको दर्नाका एक मेडिकल व्यवसायीलाई ५० हजार जरिवाना तिराइएको छ । अन्य केहि मेडिकल व्यवसायीमाथि निगरानी सुरु गरिएको बिष्टले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख सन्तोष पाठकले मदिरा, घरेलु हिंसा र विपतका घटनाले चुनौति थपिँदै गएका बेला लागुऔषधको कारोबार डर लाग्दो गरी बढेपछि प्रहरी पनि त्यसको जालो भत्काउन अभियानकै रुपमा अघि सरेको बताए। ‘अब हामी यो जालो तोड्छौ’, उनले भने, ‘नत्र यसले ठुलो रुप लिने खतरा छ।’

अछाम प्रहरी प्रमुखका रुपमा भर्खरै जिल्ला आइपुगेका प्रहरी नायव उपरीक्षक पाठकले पत्रकारहरुसँगको भेटमा लागुऔषध, मदिरा र घरेलु हिंसा नियन्त्रण गर्ने योजनका साथ आफूले काम थालेको बताए ।

Tags

छुटाउनु भयो कि ?