बुटवलस्थित तिनाउ खोला किनारमा एक युवकको शव फेला परेको छ । पूर्व पश्चिम राजमार्गको तिनाउ नदीमा रहेको पक्की पुलको तलपट्टी नदी किनारमा बुटवल उपमहानगरपालिका–५ शान्ति टोलका २० वर्षीय सुमन विक मृत अवस्थामा भेटिएका हुन् ।
इलाका प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक प्रकाश खत्रीले शरीरमा घाउ चोट नदेखिएको तर पनि केही शंकास्पद देखिएकाले थप अनुसन्धान सुरु भएको बताए । उनको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।
सुमनका साथीहरुका अनुसार शनिबार रातिसम्म उनी बुटबलमा शनिबारबाटै सञ्चालनमा आएको क्लब प्लान बिमा बसेका थिए । आइतबार बिहान खोला किनारमा पानीमै डुबेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयबाट पाएको सूचनाका आधारमा प्रहरीले पनि अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक खत्रीले बताए ।