प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै आइतबार पनि राष्ट्रिय सभा बैठकमा अवरोध गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार १८ गते सरदार प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा ‘सिंह एकपटक आफूलाई प्रधानमन्त्री बनाउन दिल्ली गएको’ भन्ने अभिव्यक्ति दिएका थिए।
बैठकको सुरुमै एमालेकी सांसद भगवती न्यौपानले प्रधानमन्त्री संसदमा आएर जवाफ दिनसमेत लायक नभएको बताइन्।
‘तपाईं यो संसदमा आएर जवाफ दिन लायक प्रधानमन्त्री हुनुहुन्न र प्रधानमन्त्रीको कुर्सीमा बस्न पनि योग्य हुनुहुन्न’, न्यौपानेले भनिन्, ‘एउटा मात्र समाधान भनेको तपाईंको बहिर्गमन हो।’
एमाले सांसदहरुले बैठक अवरोध गरेपछि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले पटक-पटक बसन् आग्रह गरेका थिए। तर एमाले सांसदहरू निरन्तर उभिएका थिए।
तिमिल्सिनाले झण्डै आधा घण्टा चलेको बैठकमा १७ मिनेटसम्म एमाले सांसदहरुलाई उभ्याइदिएका थिए।
‘१५ मिनेट भन्दा बढी भयो अब कति उभिने। बस्नुस् यसलाई नियमित सञ्चालन गरौँ’, अध्यक्ष तिमिल्सिनाको आग्रह थियो। तर एमाले सांसदहरू उभिएपछि उनले प्रधानमन्त्रीलाई बैठक सुचारु गर्नका लागि सत्तापक्ष र प्रतिपक्षको बैठक गर्न ध्यानाकर्षण गराए।
‘प्रधानमन्त्रीले संसद सुचारु गर्न सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरुको बैठक राखि आपसी संवादको माध्यमबाट उपयुक्त निकास निकाल्न म आव्हान गर्दछु’, तिमिल्सिनाले भने।
राष्ट्रिय सभामा आज बजेट माथिको मन्त्रालयगत छलफल गर्न कार्यसूची थियो।
बैठक चार दिनदेखि अवरुद्ध हुँदा राष्ट्रिय सभामा मन्त्रालयगत छलफल प्रभावित भएको छ। जसले बजेट पारित गरिसक्नुपर्ने समयसिमा समेत धकेलेको छ।
अवरुद्ध भएको राष्ट्रिय सभाको बेठक असार २५ गते ११ बजेर १ मिनेटमा बस्ने गरि डाकिएको छ।