News in Nepali

बाटो बिग्रेपछि जहाजमा यात्रा गर्नेहरू बढे, उडान थपेर माग धानिँदै

Lumbinikhabar Online

मनसुनमा बर्सेनि सर्वसाधारणको यात्रा कठिन हुन्छ। यसपालि पनि पहिरोका कारण राजमार्ग अवरूद्ध हुने क्रम जारी छ।

खास गरी काठमाडौंबाट आउजाउ गर्ने पृथ्वी राजमार्गमा अवरूद्ध भइरहँदा यात्रुको सास्ती बढेको छ। यसबाट छुटकारा पाउन यात्रुहरूले विकल्प खोजिरहेका छन्।

पहिलो विकल्प हवाई यात्रा भएको छ।

अहिले भैरहवा, भरतपुर र पोखरा विमानस्थलमा यात्रुको चाप बढेको छ। यो चापले समयमा टिकट नपाउने समस्या पनि निम्त्याएको छ।

साविकमा यात्रुले आजभोलिमै टिकट पाउँथे। अहिले भने भन्नेबित्तिकै टिकट नपाइएको उनीहरू बताउँछन्।

भैरहवा विमानस्थल कार्यालयका महाप्रबन्धक हंशराज पाण्डेले पनि अहिले टिकट सोधखोज र यात्रुको चाप बढेको बताए।

‘पछिल्लो एक-डेढ सातादेखि आवश्यक टिकट नपुगेको देखिएको छ,’ महाप्रबन्धक पाण्डेले सेतोपाटीसँग भने।

अहिले अनुमति लिएको अधिकांश उडान भइरहेका छन्। सिट पनि करिब पूरा भरिएका छन्। त्यसका बाबजुद यात्रुले टिकट नपाएको गुनासो छ। यसको कारण यात्रु संख्या बढ्नु नै भएको सम्बन्धित अधिकारीहरू बताउँछन्।

मनसुन सुरू हुनुअघि वा राजमार्गमा समस्या देखिनुपहिले भैरहवाबाट हुने उडानको ‘अकुपेन्सी’ ८० प्रतिशत थियो। अहिले शतप्रतिशत जस्तै छ।

‘यात्रुको चापका कारण हामीले पहिले अनुमति लिएका सबै उडान गर्न एयरलाइन्सलाई आग्रह गरेका थियौं,’ पाण्डेले भने, ‘अहिले पूर्ण रूपमा उडान भइरहेको छ।’

यि बीचमा दैनिक चार वटा उडान थपिएका छन्। भैरहवा विमानस्थलबाट अहिले बुद्ध, यती र श्री एयरलाइन्सले नियमित उडान गरेका छन्। दस दिनपहिले बुद्धका ९ वटा, यतीका २ वटा र श्रीका २ वटा उडान थिए।

यात्रुको चाप बढेपछि बुद्धले दैनिक ११ र यतीले चार उडान गरेको पाण्डेले बताए। श्रीले भने थपेको छैन। हाल भैरहवाबाट दैनिक १७ वटा उडान भइरहेका छन्।

सामान्यतया एयरलाइन्स कम्पनीहरूले यात्रु कम हुँदा स्वीकृत लिएका उडान पनि घटाउँछन्। यात्रु बढेका बढेका बेला सबै उडान गर्छन्। कुनै क्षेत्र विशेषमा मात्रै चाप परेको खण्डमा अन्य क्षेत्रको घटाएर पनि उडान गरिन्छ।

भैरहवासँगै अहिले भरतपुरमा पनि हवाई यात्रु बढेका छन्। बुद्ध एयरले भरतपुरमा दैनिक दुइटा उडान बढाएको छ। एक साताअघिसम्म बुद्धले यहाँ दैनिक ७ वटा उडान गर्थ्यो। अहिले दैनिक ९ उडान भइरहेको बुद्धका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले बताए।

‘वर्षाका कारण सडक बिग्रिएकाले होला भरतपुरमा यात्रु बढेका छन्,’ उनले भने, ‘उडान संख्या बढाउँदा पनि शत प्रतिशत अकुपेन्सी छ।’

काठमाडौं-भरतपुरमा हाल बुद्धले मात्र उडान गरिरहेको छ। यहाँ ४५ सिटे ‘एटिआर ४२’ जहाज चल्छ।

कर्णका अनुसार अरू ठाउँमा पनि उडान बढेको छ। बुद्धले सबभन्दा बढी उडान पोखरा र भैरहवामा गर्छ। पोखरामा दैनिक १५ वटा, भैरहवामा ११, विराटनगरमा ७ वटा उडान भइरहेको छ। बुद्धका १५ वटा जहाजमा हाल दैनिक आठ हजार यात्रु आवतजावत गर्छन्।

यती एयरलाइन्सले पनि यात्रु बढेको जनाएको छ। भैरहवाका लागि यतीले उडान संख्या बढाएको प्रवक्ता प्रवक्ता सुदर्शन बर्तौलाले बताए।

‘दुई उडान थपेर काठमाडौं-भैरहवामा अहिले दैनिक चार उडान भइरहेको छ,’ उनले भने, ‘भैरहवा र विराटनगरमा शत प्रतिशत अकुपेन्सी छ।’

Tags

छुटाउनु भयो कि ?