बंगलादेशको एक दिवसीय क्रिकेट टिमका कप्तान तमिम इकवालले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।
एकदिवसीय विश्वकप सुरु हुन तीन महिना मात्र बाँकी हुँदा तमिमले अप्रत्यासित रुपमा सन्यासको घोषणा गरेका हुन् । भारतमा आगामी अक्टोबर-नोभेम्बरमा एकदिवसीय विश्वकप हुँदैछ ।
विश्वकप अघि नै उनले १६ वर्षीय अन्तर्राष्ट्रिय करियर टुङ्गयाउने निर्णय गरेका हुन् ।
बुधबार अफगानिस्तान विरुद्ध पहिलो ओडीआई क्रिकेटमा पराजित भएपछि तमिम बिहीबार पत्रकार सम्मेलन गरी सन्यास घोषणा गर्दा भावुक बनेका थिए ।
बंगलादेश क्रिकेट बोर्डले तमिमको स्थानमा नयाँ कप्तान घोषणा गरेको छैन । हाल शकिब अल हसन टी-२० र लिटन दास टेष्ट टिमको कप्तान छन् ।
३४ वर्षीय तमिमले गत वर्ष यही समयमा टी-२० अन्तर्राष्ट्रियबाट सन्यास घोषणा गरेका थिए ।
उनको पछिल्लो टेष्ट क्रिकेट आयरल्याण्ड विरुद्ध अप्रिलमा खेलेका थिए ।
तमिमले सन् २००७ मा टिनएजर हुँदै जिम्बाव्वे विरुद्ध ओडीआईमा डेब्यु गर्दै अन्तर्राष्ट्रिय करिअर सुरु गरेका थिए ।
उनले २००७ को विश्वकपमा भारत विरुद्ध जित हात पार्दा अर्धशतक प्रहार गरेका थिए ।
तमिमले बंगलादेशका लागि ओडीआईमा सर्वाधिक ८ हजार ३१३ रन बनाएका छन् । जसमा उनले १४ शतक प्रहार गरेका थिए ।
टेष्टमा उनले ५ हजार १३४ रन बनाएका छन् । जुन बंगलादेशका लागि टेष्टमा दोस्रो सर्वाधिक हो । ओडीआई कप्ताना रुपमा मसरफे मोर्ताजा भन्दा तमिमको जित प्रतिशत बढी छ । तमिमले कप्तानको रुपमा ३७ मध्ये २१ खेल जितेका छन् ।
उनकै नेतृत्वमा बंगलादेश ओडीआई सुपर लिगमा तेस्रो स्थानमा रहेर सिधै विश्वकपमा छनोट भएको थियो ।
उनले सन् २०१७ मा न्युजिल्याण्ड विरुद्धको टेष्ट क्रिकेटमा पनि बंगलादेशको कप्तानी गरेका थिए । तमिमले २०२१ मा नेपालमा आएर भैरहवा ग्लाडिएटर्सबाट एभरेष्ट प्रिमियर लिग समेत खेलेका थिए ।