News in Nepali

कांग्रेस महामन्त्रीद्वयले बोलाएको जिल्ला सभापतिहरूको भेला सुरु

Lumbinikhabar Online

कांग्रेस जिल्ला सभापतिहरूको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । बिहीबार मध्यान्ह पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको हो । दुई दिन सञ्चालन हुने बैठकमा पार्टी सदस्यता वितरण, नवीकरण र पार्टी सञ्चालन विधिबारे छलफल हुनेछ ।

बैठकमा पार्टी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, युवा तथा खेलकुदमन्त्री एवं कांग्रेस नेता डिगबहादुर लिम्बूलगायतका नेताहरू सहभागी छन् । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले जिल्ला सभापतिहरूको भेला बोलाएका हुन् ।
१४ औं महाधिवेशनपछि कांग्रेसले जिल्ला सभापतिहरूसँग संयुक्तरुपमा अलग्गै छलफलको आयोजना गरेको यो नै पहिलो पटक हो । तर भेलामा सभापति शेरबहादुर देउवा सहभागी हुने छैनन् ।

भेलामा महामन्त्रीद्वय थापा र शर्माले नै जिल्ला सभापतिहरूसँग अन्तरक्रियात्मक छलफल गर्ने, जानकारी लिने र निर्देशन दिने कार्यक्रमहरू रहेको कांग्रेसले जनाएको छ । पार्टीमा सभापति देउवाको कार्यशैलीमाथि प्रश्न उठाउँदै आएका महामन्त्रीद्वय थापाले यसअघि अब आफूहरूको जिम्मेवारीमा पर्ने काम गर्न सभापतिलाई पर्खिएर नबस्ने अभिव्यक्ति दिएका थिए ।

पार्टीको केन्द्रीय समिति बैठकबाट जिल्ला सभापतिहरूसँग भेला गर्ने निणर्य लिएर भेला आयोजना गर्नुपर्ने पूर्वअभ्यास भएपनि महामन्त्री थापा र शर्माले केन्द्रीय समितिको सम्मुखमै जिल्ला सभापतिहरूको भेला राखेका हुन् । सभापति देउवाले बुधबारमात्रै केन्द्रीय समितिको बैठक २७ असारदेखि बस्ने गरी आह्वान गरेका छन् । निकट नेताहरूका अनुसार बुधबार बिहान बसेको पदाधिकारी बैठकमा महामन्त्री थापाले जिल्ला सभापतिहरूसँग भेलाबारे जानकारी गराएका थिए ।

Tags

छुटाउनु भयो कि ?