News in Nepali

प्रदेशमा निजामती ऐन कार्यान्वयन, दुई जनाको बढुवा

Lumbinikhabar Online

वाग्मती प्रदेश सरकारले निर्माण गरेको निजामती सेवा ऐन कार्यान्वयन सुरु गरेको छ । केन्द्रमा निजामती सेवा ऐन नबनेको अवस्थामा प्रदेश सरकारले निर्माण गरी कार्यान्वयन सुरु गरेको हो । प्रदेश निजामती सेवा ऐन, २०७९ को दफा १५ को उपदफा १ बमोजिम उनीहरुको बढुवा गर्ने निर्णय गरिएको हो ।

सरकारले प्रदेशमा नै कार्यरत २ कर्मचारीलाई एघारौं तहमा बढुवा गर्ने निर्णय गरेको हो । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा नै दरवन्दी कायम रहि शिक्षा तथा प्रशासन सेवामा कार्यरत २ कर्मचारीलाई प्रदेश सचिव सरह रहने गरी एघारौं तहमा बढुवा गर्ने निर्णय गरेको जनाएको छ ।

प्रदेश निजामती सेवा ऐनले एघारौं तहका कर्मचारी सचिव हुने व्यवस्था गरेको र उक्त ऐन कार्यान्वयन गर्दै चन्द्रप्रसाद लुइँटेल र पूर्णबहादुर दर्जीलाई शिक्षा एवम् प्रशासन सेवा तर्फ एघारौं तहमा बढुवा गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।

बैठकले प्रमुख प्रतिपक्षीलगायतसँग सहमति भएअनुसार छुट्न गएका योजनाहरू समावेश गर्ने निर्णय गरेको समेत गरेको छ । पर्यटन उद्योग तथा सहकारी मन्त्रालयअन्तर्गत्को पर्यटन विकास आयोजना, हेटौंडा र पर्यटन विकास आयोजना, इकाई कार्यालय, काठमाडौंको २०८० साउनदेखि २०८२ असार मसान्तसम्म २ वर्षको लागि म्याद थप्ने निर्णय बैठकले गरेको छ ।

Tags

छुटाउनु भयो कि ?