News in Nepali

आयोगको प्रस्ताव: चुनावको दिन अनुपस्थित हुनेले अग्रिम मतदान गर्न पाउने

Lumbinikhabar Online

निर्वाचन आयोगले चुनावको दिनमा अनुपस्थित हुनेलाई अग्रिम मतदान गर्न पाउने व्यवस्था प्रस्ताव गरेको छ।

प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ नभई हाललाई समानुपातिक निर्वाचन प्रणालीमा यो व्यवस्था गर्ने प्रस्ताव आयोगले गरेको हो।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले वडागत रूपमा सम्भव नहुने भएकाले अहिलेलाई समानुपातिकतर्फ मात्रै यो व्यवस्था गर्न खोजेको बताए।

यो व्यवस्था कानुन बने चुनावको दिन मतदान गर्न असम्भव हुने अवस्थामा समानुपातिक प्रणालीमा अग्रिम मतदान गर्न सक्ने भएको हो।

त्यसका लागि आयोगले तोकेको दिन र मतदान केन्द्रमा उपस्थित भएर मतदान गर्न सक्ने व्यवस्था विधेयकको मस्यौदामा छ।

आयोगले यसमा भाग लिन छुट्टै अस्थायी मतदाता नामावली तयार गर्ने प्रस्ताव समेत गरेको छ।

सरकारी कर्मचारी, सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत सुरक्षाकर्मी, निर्वाचनमा खटिएका कर्मचारी, थुनुवा वा कैदी र आयोगले तोकेका अन्य व्यक्तिलाई अस्थायी मतदाता नामावली दिन सक्ने भनिएको छ। उनीहरूले चुनाव अगावै मतदान गर्न सक्नेछन्।

उक्त नामावली निर्वाचन सकेसँगै स्वत: रद्द हुने आयोगले जनाएको छ।
मतदानको दिन निर्वाचन पर्यवेक्षण गर्न जाने निर्वाचन पर्यवेक्षक र मतदान हुने दिन वा त्यसअघि मतदान हुने दिनसम्म विदेश भ्रमण गर्ने मतदाताले पनि अग्रिम मतदान गर्न पाउने भनिएको छ।

त्यसैगरी व्यापार, व्यवसाय, रोजगारी वा स्वास्थ्योपचारका कारण आफ्नो मतदाता नामावली रहेको वडामा उपस्थित हुन नसक्ने मतदाताले पनि समानुपातिक प्रणालीमा अग्रिम मतदान गर्न सक्ने व्यवस्था प्रस्ताव गरेको हो।

हाल कार्यान्वयनमा रहेका कानुनहरूमा यो व्यवस्था छैन।

आयोगको सोमबार बसेको बैठकले निर्वाचन व्यवस्थापन विधेयक मस्यौदालाई गृह मन्त्रालयमार्फत् कानुन बनाउन प्रतिनिधि सभामा पेश गर्ने निर्णय गरेको थियो।

Tags

छुटाउनु भयो कि ?