बिहीबार आधा घन्टाका लागि स्थगित भएर बस्दै नबसेको कोशी प्रदेश सभाको बैठक शुक्रबार बसेको छ।
अहिले विराटनगरस्थित प्रदेश सभा भवनमा बसिरहेको बैठकमा मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मतसम्बन्धी प्रस्तावमा उठेका प्रश्नको जवाफ दिएका छन्।
प्रदेश सभालाई सबोधन गर्ने क्रममा मुख्यमन्त्री कार्कीले दलहरूसँग फेरि विश्वासको मत मागेका छन्।
‘म सबै हिसाबले मिलेर जान तयार छु,’ उनले भने, ‘म विश्वासको मत लिन्छु। मत विभाजनका लागि सभामुखसँग अनुरोध गर्दछु। मलाई मत दिन सबैलाई अनुरोध गर्छु।’
मुख्यमन्त्री कार्कीले सर्वदलीय सरकार बनाउन फेरि आह्वान गरेका छन्। प्रदेशमा अस्थिरता नल्याउन यो उपायमा जानुपर्ने उल्लेख गर्दै उनले नयाँ सरकार बन्न नसक्ने जिकिर पनि गरे।
कार्कीले आज विश्वासको मत पाउने सम्भावना झिनो छ।
आजको प्रदेश सभा बैठकमा जनता समाजवादी पार्टीकी सांसद निमर्ला लिम्बू बैठकमा अनुपस्थित भएकी छिन्। कोशीमा जसपाकी लिम्बू एक्ली सांसद हुन्। गत पुस २५ गते एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन सहयोग गरी लिम्बू स्वास्थ्यमन्त्री नियुक्त भएकी थिइन्। उनले जेठ १७ गते मन्त्री पदबाट राजीनामा दिँदै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएकी थिइन्। स्रोतका अनुसार उनी विराटनगर बाहिर छिन्।
प्रदेश सभामा एमालेसग ४० र राप्रपासग ६ गरि सरकारको पक्षमा ४६ मत छ भने विपक्षमा नेपाली कांग्रेस २९, माओवादी केन्द्र १३ (सभामुखसहित), एकीकृत समाजवादीसँग ४ मत छ। १ मत रहेको जसपा तटस्थ रहने भन्दै आज अनुपस्थित छ।