नेपालले घरेलु टोली मलेसियालाई ८४ रनले हराउँदै एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटमा समूहविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । यसअघि नै सेमिफाइनल पुगेको नेपाल शुक्रबार मलेसियालाई हराउँदै समूह ‘ए’ विजेता बनेको हो ।
समूह ‘ए’ मा रहेको थाइल्यान्ड दुवै खेलमा पराजित भएपछि नेपाल र मलेसिया सेमिफाइनल पुगेका हुन् । नेपालले अब सेमिफाइनलमा समूह ‘बी’को उपविजेता सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ । सिंगापुर शुक्रबार नै भएको खेलमा हङकङसँग ७ विकेटले पराजित भयो । हङकङ समूह ‘बी’ को विजेता भएर समूह ‘ए’ को उपविजेता मलेसियासँग सेमिफाइनलमा खेल्नेछ । दुवै सेमिफाइनल आगामी सोमबार हुनेछ ।
१ सय ८४ रनको विजय लक्ष्य लिएर आएको मलेसिया ३०.५ ओभरमा ९९ रनमै अलआउट भएको हो । मलेसियाका लागि मोहम्मद हाइरिलले सर्वाधिक २५ रन बनाए । त्यस्तै मोहम्मद आलिफले १५ रन बनाउँदा मोहम्मद अक्रमले १२ रन बनाए । अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि अशोक धामीले ४ विकेट लिए । ७ ओभर बलिङ गरेका उनले १४ रन मात्र खर्चिएका थिए । त्यस्तै ४.५ ओभरमा २६ रन खर्चिँदै अभिषेक तिवारीले ३ विकेट लिए । सन्तोष यादवले २ विकेट लिँदा कृतिक कामतले १ विकेट लिए ।