बिहीबार स्थगित कोशी प्रदेश सभा बैठक सुरू भएको छ।
आजको बैठकमा विश्वासको मतको प्रस्तावमा उठेका विषयबारे मुख्यमन्त्री हिक्मत कार्कीले जवाफ दिँदैछन्।
हिजोको बैठकमा छलफलका क्रममा आर्थिक विषय उठेको कारण तयारीका लागि सभामुखसँग समय मागेरै आफू बाहिरिएको उनले बताए।
‘नेकपा एमाले संविधानको पालन गर्न प्रतिबद्ध छ। कसैले हामीप्रति शंका गर्न जरूरी छैन’, उनले भने, ‘छलफलका क्रममा आर्थिक विषय उठेको कारण तयारीका लागि सभामुखसँग समय मागेरै म हिजो गएको हुँ।’
आजको प्रदेशसभा बैठकमा जनता समाजवादी पार्टीकी सांसद निमर्ला लिम्बू बैठकमा अनुपस्थित भएकी छन्।
कोशीमा जसपाकी लिम्बू एक्ली सांसद हुन्। गत पुस २५ गते एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन सहयोग गरी लिम्बू स्वास्थ्यमन्त्री नियुक्त भएकी थिइन्।
उनले जेठ १७ गते मन्त्री पदबाट राजीनामा दिँदै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएकी थिइन्। स्रोतका अनुसार उनी विराटनगर बाहिर छिन्।
बिहीबार सुरू प्रदेशसभा अधिवेशनमा मुख्यमन्त्री कार्कीले आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए। उनले पेस गरेको प्रस्तावमाथि छलफल क्रममा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीले विश्वासको मत नदिने बताएका थिए। यिनै दलहरूसँगको गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा) भने तटस्थ बसेको थियो।
जसपा तटस्थ बसेर अन्य दल विपक्षमा बसेपछि मुख्यमन्त्रीले बहुमत नपाउने निश्चित भएको थियो। विश्वासको मतबारे छलफल सकिएपछि सभामुख बाबुराम गौतमले ५ बजेर २० मिनेटमा प्रदेशसभा बैठक आधा घन्टाका लागि स्थगित गरेका थिए।
संसदबाट बाहिर निस्कनेबित्तिकै मुख्यमन्त्री कार्कीले सभामुख गौतमलाई भेटेर बैठक सार्न दबाब दिएका थिए। सभामुखले बैठक सार्न नसकिने जवाफ दिएपछि मुख्यमन्त्री आफ्ना मन्त्रीहरूलाई लिएर प्रदेशसभाबाट ६ बजे आसपास बाहिरिएका थिए।त्यसपछि मुख्यमन्त्री र मन्त्रीहरू प्रदेशसभामा फर्केर आएनन्।
मुख्यमन्त्री फर्केर नआएपछि सभामुखको कार्यकक्षमा सबै दलका प्रमुख सचेतक र सचेतकहरू छलफलमा जुटेका थिए। त्यस क्रममा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बैठक सार्न माग गरिरहे। विपक्षी दलका नेताहरूले अस्वीकार गरेका थिए।
सभामुखको कार्यकक्षमा भइरहेको चर्काचर्कीले आधा घन्टाको समय गुज्रिसकेको थियो। मुख्यमन्त्रीले फोनमार्फत अनुरोध गरेपछि सभामुखले साँझ ८ बजेका लागि बैठक बोलाउन सचिवालयलाई निर्देशन दिएका थिए।
आठ बजे बैठक बस्ने सूचना निस्किएपछि पनि छलफल जारी थियो। तर सरकारका मुख्यमन्त्री र मन्त्रीहरू प्रदेशसभामा आएनन्।
अन्ततः एमाले संसदीय दलले बैठक स्थगित गर्न सभामुखलाई अनुरोध गरेपछि राति साढे ९ बजे सभामुखले शुक्रबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए।
बिहीबार बिहान मुख्यमन्त्री कार्कीले आफूलाई विश्वासको मत दिन सबै दलहरूलाई पत्राचार गरेका थिए।