गत जेठ दोस्रो साताका लागि तय भएर अन्तिम समयमा आएर रोकिएको अन्तरप्रदेश मुख्यमन्त्री बैठक आउँदो शुक्रबारबाट पोखरामा हुने भएको छ।
यसअघि १० र ११ जेठका लागि तय भई सम्पूर्ण तयारी पूरा भएपछि अन्तिम समयमा आएर रोकिएको बैठक त्यसको एक महिनापछि १५ र १६ असारमा हुने भएको हो। अन्तिम समयमा प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यव्यस्तताले सम्मेलन स्थगित भएको थियो।
प्रदेश सरकारले आफ्नो अधिकार नपाएको गुनासो बढिरहेका वेला गण्डकी प्रदेश सरकारको आयोजनामा पोखरामा हुने बैठकमा सहभागी हुन मुख्यमन्त्रीहरू पोखरामा भेला हुन लागेका हुन्।
प्रधानमन्त्री प्रमुख अतिथि रहने बैठकमा सात प्रदेशका मुख्यमन्त्रीसँगै प्रदेशका प्रमुख सचिवहरूसमेत सहभागी हुने गण्डकी प्रदेश सरकारका प्रवक्ता सरस्वती अर्याल तिवारीले जानकारी दिइन्।
तिवारीका अनुसार दोस्रोपटक पोखरामा हुन लागेको बैठकमा मुख्यमन्त्रीहरूले आफ्ना अनुभव साटासाट गर्ने, आवश्यक कानुन र अन्य कारण कार्यसम्पादनमा भएको समस्याबारे छलफल गर्ने र साझा धारणासहित बैठकका निर्णयहरू सार्वजनिक गर्ने तयारी छ।
प्रधानमन्त्री अध्यक्ष र मुख्यमन्त्रीहरू सदस्य रहेको अन्तरप्रदेश परिषद्को बैठकसमेत लामो समयदेखि बस्न सकेको छैन। यो बैठकलाई प्रदेश सरकारका अधिकार र आवश्यक कानुन निर्माणका लागि संघीय सरकारलाई दबाब सिर्जना गर्ने माध्यमका रूपमा बुझिएको छ।
बैठकमा संघीयताको कार्यान्वयन, कर्मचारी व्यवस्थापन, संगठन संरचना, प्राकृतिक स्राेतहरूको न्यायोचित वितरण र विकास आयोजनाको वर्गीकरण, विकास सहायता र कूटनीतिक सम्पर्क, नयाँ कानुनहरूकाे निर्माण र केही कानुनहरूको संशोधनबारे छलफल गरी विभिन्न निर्णयहरू गरिने बताइएको छ।
बैठकमा सामूहिक छलफलसँगै भावी योजना र रणनीति, प्रदेशका ठूला योजना, समस्या, योजना कार्यान्वयनलगायतका विषयमा समेत छलफल हुने भएको छ।