नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला प्रहरी परिसर काठमाडौंले थप १ जना आरोपीलाई पक्राउ गरेको छ । प्रहरीले सोमबार मण्डिखाटारबाट आशिष बुढाथोकीलाई पक्राउ गरेको हो ।
शरणार्थी प्रकरणका अभियुक्तहरू धमाधम पक्राउ परिरहेका बेला उक्त प्रकरणमा मुछिएका बुढाथोकी फरार थिए । यस प्रकरणमा गिरोहले बुढाथोकीको बैंक खातामा संकलन गरेको रकम प्रहरीले अनुसन्धानमा प्रमाण फेला पारेको थियो ।
यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, सचिवबाट निलम्बित टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित १८ जना पक्राउ परेर हिरासतमा छन् । प्रहरीले ३० जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा मुद्दा चलाएको थियो । फरार १२ जना मध्ये सोमबार बुढाथोकी पक्राउ परेका छन् । अब ११ जना पक्राउ पर्न बाँकी रहेका छन् ।
पक्राउ परेकामध्ये लक्ष्मी महर्जन र टंक गुरुङ भने धरौटीमा रिहा भइसकेका छन् । अरुलाई पुर्पक्षका लागि थुनामा राखिएको छ ।