News in Nepali

प्रतिनिधिसभामा उठ्यो उपराष्ट्रपति पद र सुविधा खारेजीको माग

Lumbinikhabar Online

प्रतिनिधिसभाको आइतबारको बैठकमा केही सांसदहरूले उपराष्ट्रपति पद नै खारेज गर्नुपर्ने र कायम रहेको अवस्थामा उनलाई दिइँदै आएको सुविधा पनि कटौती गर्नुपर्ने माग गरेका छन् ।

संसद्‌मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले पद नै खारेज गर्नुपर्ने बताए भने राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले उपराष्ट्रपतिको सुविधा कटौती गर्नुपर्ने आवाज उठाइन् । त्यस्तै जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले राष्ट्रिय सभाको उपाध्यक्षको जिम्मेवारी उपराष्ट्रपतिलाई दिनुपर्ने बताइन् ।

बैठकमा बोल्दै रास्वपाका मनिष झाले उपराष्ट्रपति पद आवश्यक नभएको भन्दै हालसम्म उपराष्ट्रपतिको पदले सम्झनलायक कुनै पनि काम गर्न नसकेकाले यसको औचित्य नरहेको बताए । उनले उपराष्ट्रपतिले गर्ने काम राष्ट्रिय सभा अध्यक्षले नै गर्न सक्ने व्यवस्था गर्नुपर्ने बताए ।

उपराष्ट्रपतिको पद संवैधानिक अभ्यास गरेपश्चात आजसम्म ५ हजार ११५ दिन भएको रहेछ । ४ वटा कार्यकाल, तीनवटा अनुहार । त्यो हेर्दै गर्दाखेरि सम्झिनलायकको कुराहरू के छ त ? ५ हजार ११५ दिनले यो पदले सम्झिनलायक कुनै पाँचवटा कुरा हामी सम्झिन सक्छौँ ?’ उनले प्रश्न गरे, ‘त्यसैले गर्दा त्यो सम्झिन सक्दैनौँ भने यो पदको औचित्यको जवाफ सम्झिन सक्ने वा नसक्ने त्यो ५ हजार ११५ दिनले नै दिन्छ । त्यसैले गर्दा पनि हामीले सोच्नुपर्छ । हामी यो पदको परिकल्पना गर्दैनौँ । हामी यो पद आवश्यक छैन भन्छौं । र राष्ट्रिय सभाको अध्यक्षले नै यसको काम गर्नसक्छ भन्छौँ ।’

 

Tags

छुटाउनु भयो कि ?