News in Nepali

अविरल वर्षाले घर भत्किँदा गर्भवतीसहित दुई घाइते, तीन दिनपछि मुचुल्का

Lumbinikhabar Online

गत सोमबारको अविरल वर्षाका कारण त्रिवेणी नगरपालिका– १ सल्लेरीमा आठमहिने गर्भवतीसहित दुईजना घाइते भए। बिहान ४ बजेतिर वर्षाले घर भत्किँदा गर्भवती २३ वर्षीया पार्वती नेपाली र उनका श्रीमान् २५ वर्षीय जनक नेपाली घाइते भए।

घरको एउटा कोठामा सुतिरहेका बालबालिका र वृद्धवृद्धाको सकुशल उद्धार गरे पनि पार्वती र जनकलाई घरभित्र चेपिएको अवस्थामा निकालिएको उनीहरूका आफन्त प्रेम नेपालीले बताए । उनीहरूको अहिले अछामको बयालपाट अस्पतालमा उपचार भइरहेको छ।

तर, घटना घटेको केही समयमै वडा कार्यालय र प्रहरीलाई जानकारी गराए पनि तीन दिनसम्म घटनाको विषयमा चासो दिएनन्। मुचुल्का उठाउन प्रहरीलाई बारम्बार अनुरोध गरे पनि आलटाल गरेको प्रेम नेपालीले बताए। ‘एकातिर घर भत्केर बिचल्ली छ, अर्कोतिर बाँकी रहेको सामान पनि प्रयोग गर्न पाएनन्,’ उनले भने।

१० जना सदस्य रहेको परिवारमा चारजना रोजगारीका लागि भारतमा छन्। छोरा–बुहारी घाइते भएर उपचाररत रहेकाले दुई बालबालिकासहित बाँकी सदस्य ५५ वर्षीया कुन्ता नेपालीको भरमा छन्।

छिमेकीको गोठमा बसिरहेका उनीहरूले गाउँलेबाट चार केजी चामल मागेर छाक टारिरहेका थिए। घटनाको तीन दिनपछि जिल्लाका पत्रकारहरूले सोधखोज गरेपछि बुधबार साँझ मात्रै प्रहरीले मुचुल्का उठाएको प्रेमले बताए।

Tags

छुटाउनु भयो कि ?