सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध परेका उजुरीमा ३२ जेठमा सुनुवाइ हुने भएको छ। सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले ३२ जेठमा सुनुवाइ गर्ने निर्णय गरेकाे हाे।
आजको बैठकमा कार्कीविरुद्ध परेका उजुरीहरु खोलेर सांसदहरुलाई वितरण गरिएकाे छ। उनीविरुद्ध २९ वटा उजुरी परेका छन्।
समितिले ३१ गते उजुरीकर्तासँग छलफल गरी ३२ गते कार्कीलाई समितिको बैठकमा बोलाउने छ। १ असारमा थप छलफल पछि अन्तिम निर्णय लिइनेछ। सुनुवाइबाट अनुमोदन भए कार्की प्रधानन्यायाधीश नियुक्त हुनेछन् । यद्यपि, ६५ वर्षे उमेरहदका कारण १९ साउनसम्म मात्रै उनको सेवावधि हुनेछ।
१ फागुन ०७८ मा महाभियोग दर्ता भएलगत्तै निलम्बनमा परेका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले २७ मंसिरमा अवकाश पाएका थिए । जबरा निलम्बन परेलगत्तै कामु प्रधानन्यायाधीश बनेका दीपक कार्कीले पनि १५ असोजमा अवकाश लिए । त्यसपछि कार्कीले कामुको जिम्मेवारी पाएका थिए ।