News in Nepali

बजेट ‘गेम चेन्ज’मा होइन आयोजनाको ‘नेम चेन्ज’मा उद्यत भयो : पौडेल

Lumbinikhabar Online

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारले ल्याएको बजेट चालु आयोजनाहरूको कार्यक्रम र नाम परिवर्तनमा लागेको टिप्पणी गरेका छन् । विभिन्न आयोजनाहरू पूरा गर्नका लागि बजेट विनियोजन गर्ने तथा स्रोत सुनिश्चित गर्नतिर बजेट अग्रसर हुनुपर्नेमा नाम परिवर्तनमा लागेको उनको भनाइ थियो ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा सहभागी हुँदै सांसद पौडेलले यसअघिको सरकारले ल्याएका आयोजनाहरूलाई बेवास्ता गरिएको बताएका हुन् ।
‘भौतिक पूर्वाधार र शिक्षा स्वास्थ्य, रोजगारीजस्ता मानवीय विकासका कार्यक्रम तथा योजनाहरूमा गरिएका विनियोजन अत्यन्त न्यून र असन्तुलित छ ।

विगतमा प्रधानमन्त्री रोजगार कार्यक्रम, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, राष्ट्रपति महिला सशक्तीकरण कार्यक्रम, तराईका जिल्ला सदरमुकामहरूको सहरीकरणसम्बन्धी कार्यक्रम, औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण, शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यक्रमलगायत कैयौं कार्यक्रम र आयोजनाहरूलाई या त हटाइएको छ या तिनको क्षमता कटौती गरिएको छ,’ उनले भने, ‘यसरी बजेट गेम चेन्जमा होइन, कार्यक्रम र आयोजनाहरूको नेम चेन्ज गर्ने कुराहरूमा उद्यत भएर लागेको छ ।’

सरकारले स्वास्थ्य, शिक्षा, खानेपानी र सरसफाइका क्षेत्रमा बजेट घटाइएको र त्यसले आम नेपालीको जीवनस्तर र मानव विकास सूचकांकमा गम्भीर नकारात्मक असर पार्ने पौडेलको भनाइ छ । बजेटमा कुनै पनि नयाँपन नरहेको पनि उनले भने । ‘जे छ विगतकै कार्यक्रमहरूको निरन्तरता छ । थप केही छ भने नाराको भीड छ । तर ती नारालाई कार्यान्वयन गर्ने विनियोजन छैन,’ उनले भने ।

Tags

छुटाउनु भयो कि ?